मौद्रिक नीति र ब्याजदरमा सरकारले हस्तक्षेप गर्नुपर्ने बडूसहित तीन मन्त्रीको धारणा

दार्चुला । मन्त्रिपरिषद् बैठकमा अहिलेको मौद्रिक नीति, बैंकले तोकेको ब्याजदरले उद्योगी व्यवसायीलाई उद्योग व्यवसाय सञ्चालन गर्न, तिर्नुपर्ने किस्ता र बैंकको ब्याजदर तिर्न समस्या भएकाले तत्काल निकास निकाल्नुपर्ने विषय उठेको छ । आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अहिलेको मौद्रिक नीति र बैंकहरूले तोकेको ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या आउने भन्दै सरकारले हस्तक्षेप गर्नुपर्ने बताउनुभएको हो ।

गृहमन्त्री खाणले यस विषयमा निकास नभए उद्योग व्यवसाय र अर्थतन्त्रमा गम्भीर प्रभाव पर्ने धारणा मन्त्रिपरिषद् बैठकमा राखेको जानकारी दिनुभयो । मौद्रिक नीति र बैंकको ब्याजदरका कारण सञ्चालन गर्न नसक्ने अवस्था आएपछि धेरै उद्योगी व्यवसायीले सरकारले हस्तक्षेप गर्नुपर्ने धारणा उहाँहरूले मन्त्रिपरिषद् बैठकमा राख्नुभएको हो ।

तीन मन्त्रीको धारणापछि प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्ने र उद्योग व्यवसायलाई सुरक्षा प्रदान गर्ने दायित्व सरकारको भएको बताउनुभएको थियो । अहिलेको मौद्रिक नीति र चर्को ब्याजदरका कारण देशको अर्थतन्त्र र राजस्वमा गम्भीर प्रभाव पार्नेबारे आफू जानकार रहेको र सबै पक्षसँग संवाद गरी समस्याको समाधान निकाल्ने प्रधानमन्त्री देउवाले बैठकमा बताउनुभएको थियो ।

गलत मौद्रिक नीतिका कारण आफूहरूले व्यवसायबाट हात धुनुपर्ने अवस्थामा पुगेको भन्दै उद्योगी व्यवसायीसम्बद्ध सङ्घ–संस्थाले प्रधानमन्त्री देउवा र मन्त्रीहरूको पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन् ।

यसैबिच सरकारले विदेशबाट विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले गाडी, मोटरसाइकल र मोबाइलसहितका वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटाउन सैद्धान्तिक निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले जानकारी दिनुभयो । आजको बैठकले विदेशी मुद्राको सञ्चिति केही बढेको र आयात प्रतिबन्ध लम्बाउँदा भन्सार राजस्वमा कमी आएर सरकारी कोष समस्यामा पर्ने निष्कर्षसहित आयात खुला गर्ने निर्णय गरेको गहतराजले बताउनुभयो ।

अब अर्थ मन्त्रालयको सहमतिसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात खुलाउने प्रस्ताव पेस गर्ने र पारित भएर राजपत्रमा प्रकाशन भएपछि लागू हुने गहतराजको भनाइ छ । यो प्रक्रिया पूरा हुँदा पुस महिना सुरु हुनेछ । विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले गएको वैशाखदेखि १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाएको थियो भने ५० हजार डलरभन्दा महँगा निजी चार पाङ्ग्रे गाडी, १५० सीसीमाथिका मोटरसाइकल, तयारी रक्सी र तीन सय डलरभन्दा महँगा मोबाइल फोन आयात प्रतिबन्ध कायमै राखेको थियो । आयात प्रतिबन्ध हटाउन सरकारले मुख्यसचिवको संयोजकत्वमा समिति पनि गठन गरेको थियो । समितिले अझै पनि आयात प्रतिबन्ध लगाउँदा समस्या थपिँदै जाने भएकाले आयात खुला गर्नुपर्ने सुझाव दिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?