नेपाली र भारतीय अधिकारीबिच छलफलः महाकाली नदीलाई १० दिनभित्र आफ्नै धारमा फर्काइने

दार्चुला । दार्चुलास्थित महाकाली नदी पारी भारतले एकतर्फी रुपमा निर्माण गरिरहेको तटबन्धका कारण नेपालतर्फ मोडिएको नदी पुनः आफ्नै धारमा फर्काउने सहमति भएको छ । भारतीय पक्षले एकतर्फी तटबन्ध निर्माण गरेपछि भएको विवाद समाधानका लागि नेपाल र भारतीय सुरक्षा अधिकारीबिच बुधबार भारतको पिथौरागढ जिल्लाको धार्चुलामा भएको छलफलमा १० दिनभित्र नदीलाई बीचमा पार्ने सहमति भएको हो ।

धार्चुलामा भएको छलफलमा नेपाली पक्षको मागअनुसार नदीको बीचमा रहेका अस्थायी संरचना हटाउन १० दिनको समय दिइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययले जानकारी दिनुभयो । नेपालतर्फ सोझिएको नदीको धार बीचमा पार्ने, अत्यावश्यक बाहेकका अस्थायी डाइभर्सन, संरचना तत्काल हटाउने, यसका लागि भारतीय जनशक्ति नै परिचालन गर्ने सहमति बनेको प्रजिअ उपाध्यायले बताउनुभयो । तोकिएको समय १० दिनमा सहमतिअनुसार काम गरे नगरेको अवस्था हेरी पुनः भारतीय प्रशासनसँग छलफल अघि बढाइने उहाँको भनाई छ । नेपालसंग विना छलफल एकतर्फी रूपमा तटबन्ध निर्माण गरिरहेको भारतीय पक्ष चौतर्फी दबाबपछि वार्तामा बस्न सहमत भएको थियो । गत आइतबार नेपाल र भारत दुबैतर्फ स्थानीयबिच भएको ढुगां हानाहान र समस्या समाधानका विषयमा बैठकमा छलफल भएको बताइएको छ ।

नेपाल सरकारले कूटनीतिक नोट पठाएपछि भारतीय अधिकारीले हिजो महाकाली नदी क्षेत्रमा भइरहेको तटबन्ध निर्माणको कामको अनुगमन पनि गरेका थिए । गत आइतवार दार्चुलाको खलंगाका स्थानीय बासिन्दा प्रतिरोधमा उत्रिँदा भारतीय नागरिकले ढुंगामुढा गर्दा बालकसहित चार नेपाली घाइते भएका थिए । भारततर्फ समेत केही मानिस घाइते भएको दाबी गरिएको छ ।

बैठकमा नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी उपाध्याय, सुरक्षा निकायका प्रमुख, महाकाली नदी नियन्त्रण आयोजनाका प्रतिनिधि करनसिंह धामी र भारतका तर्फबाट पिथौरागढ जिल्लाका प्रमुख रीना जोशी, तहशिल धारचुलाका उपजिल्ला अधिकारी दिवेश शासनी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?