दार्चुला । बैतडीको पाटन नगरपालिका–६ मा २०३० साल कात्तिक २० गते जन्मिएका थिए, दामोदर भण्डारी । बुबा उदयसिंह भण्डारी र आमा कमला भण्डारीका पुत्र दामोदरले २०४६ सालबाट राजनीति गर्न थाले । भण्डारी २०४६ सालको जनआन्दोलनबाट प्रभावित भई राजनीतिमा होमिएका थिए । २०४८ सालमा अनेरास्ववियू बैतडीको जिल्ला कमिटी अध्यक्ष भएका भण्डारी २०५० सालमा नेकपा एमालेको बैतडी जिल्ला कमिटी सदस्य बने ।
त्यसपछि भण्डारी २०५४ सालमा जिल्ला कमिटी उपसचिव भए। २०५६ देखि २०६४ सम्म नेकपा एमाले बैतडीको पार्टी प्रमुख (सचिव) हुँदै एमाले बैतडीका अध्यक्ष बने। २०७५ मा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भएका भण्डारी हाल एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षको जिम्मेवारीमा छन्। निर्वाचनको इतिहासमा भने ९ वर्षअघि २०७० सालमा दोस्रो संविधानसभाको निर्वाचनमा बाजी मारेपछि भण्डारी पछि फर्कनुपरेको छैन। पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्षको हैसियतमा रहेका उनले लगातार तेस्रोपटक विजयी भएपछि आज (सोमबार) पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा स्थान बनाएका छन्। मन्त्री बने पनि उनको कार्यभार भने टुंगो लाग्न बाँकी छ। पछि जिम्मेवारी तोकिने गरी उनले आजै मन्त्रीको शपथ ग्रहण गरेका छन्।
यसअघि २०७३ सालमा अर्थ राज्यमन्त्रीको पद सम्हालिसकेका भण्डारी दोस्रोपटक मन्त्री बनेका हुन्। २०७० को निर्वाचनमा भण्डारी बैतडी–१ बाट ११ हजार ६७२ मत ल्याएर पहिलोपटक संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। उतिवेला उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका लोकराज अवस्थीले १० हजार ३१४ मत पाएका थिए। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादी नेता नरेन्द्र कुँवरसँग झण्डै तेब्बर मतान्तरले पराजित हुँदा भण्डारीको मत ९ हजार ५९ थियो।
२०७० सालमा कमब्याक गरेका उनले २०७४ मा पनि अपराजित यात्रा कायमै राखे। बैतडी एउटै निर्वाचन क्षेत्र बन्दा वाम गठबन्धनका तर्फबाट भण्डारीले ११ हजार २३३ को मतान्तरले कांग्रेस उम्मेदवारलाई सजिलै हराएका थिए। त्यतिवेला उनले ३९ हजार ५२४ मत ल्याएका थिए। तेस्रो पटक ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन सत्तारुढ गठबन्धन (पाँच दल)का तर्फबाट माओवादी केन्द्रका नेता नरेन्द्र कुँवरलाई पराजित गर्दै भण्डारीले सिंहदरबारको यात्रा तय गरेका हुन्। यो संसदीय निर्वाचनमा १ हजार ५३१ मतान्तरसहित बाजी मारेका भण्डारीले ३३ हजार ६११ मत पाएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत ल्याएका थिए।
विद्यार्थी जीवनबाटै राजनीतिमा होमिएका दामोदर भण्डारी एमालेमा अडिग रहे। नेता भण्डारी २०७९ सम्म आइपुग्दा सफल राजनीतिज्ञका रूपमा चिनिन्छन्। पार्टीमा कहिले पनि नडमगाएर अनवरत रूपमा संगठन बनाई पार्टीलाई नयाँ उचाइमा पु¥याउन उनको ठूलो भूमिका रहेको बताइन्छ। हालै एमाले पार्टी फुट्दा पनि बैतडी जिल्लामा न्यून प्रभाव पार्न सफल भएका नेता समेत भण्डारी हुन्। उनले आफूले बितेको दशकमा पाटन विमानस्थल, पाटन–पञ्चेश्वर सडक, महाकाली करिडोर लगायत शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइको क्षेत्रमा काम गरेको बताउँछन्।
भण्डारी मन्त्री बनेपछि बैतडीमा दीप प्रज्वलन
बैतडीबाट निर्वाचित सांसद भण्डारी मन्त्री बनेको खुसियालिमा बैतडीमा दीप प्रज्वलन गरिएको छ । सांसद दामोदर भण्डारी मन्त्री बनेपछि उनको गृह जिल्ला बैतडीमा खुसियालिमा दीप प्रज्वलन गरिएको हो । खुसियालिमा बैतडीको पाटनमा दिप प्रज्वलन गरिएको छ ।
माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठन गरिएको ८ सदस्यीय मन्त्रीमण्डलमा भण्डारीले मन्त्री पदको शपथ लिएका छन् । आज शितल निवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा मन्त्री भण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका हुन् । सोहिको नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष समेत रहेका भण्डारीले मन्त्री पदको शपथ ग्रहण गरेपनि मन्त्रालयको भने टुंगो लागेको छैन् भण्डारी मन्त्री भएसंगै जिल्लाको विकासले गति लिने आशा पलाएको छ । बैतडीले पहिलो पटक फुल मन्त्री पाएको हो । यस अघि केपि ओली नेतृत्वमा सरकारमा भण्डारी अर्थराज्य मन्त्री भएका थिए ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया