दार्चुला । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाउनुभएको छ । आइतबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले पेश गरेको विश्वासको मत सम्बन्धि प्रस्तावको पक्षमा ४१ र विपक्षमा ११ मत परेको हो ।
सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेको प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेको भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्नुभएको हो। यो मत ५३ सदस्यीय प्रदेशसभाको दुई तिहाइ भन्दा बढि हो ।
२६ माघमा संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहलाई कांग्रेसका १९, माओवादी केन्द्रका (सभामुख बाहेक) १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र सांसद डा।तारा जोशीले विश्वासको मत दिएका हुन् ।
२७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि शाह २६ माघमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
विश्वासको मत दिने दलहरुले शाह नेतृत्वको सरकारमा सहभागीसमेत हुने निर्णय गरेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया