भारु लेनदेन घट्दै, प्रतिबन्धित नोट बढ्दै

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–५ का पुरुषोत्तम जोशी गत आइतबार दिउँसो इन्धन (पेट्रोल) किन्न पेट्रोल पम्पमा पुगेका थिए । तीन लिटर पेट्रोल भरेर पैसा काट्न पाँच सय भारु दिएका जोशीलाई बिक्रेताले भारु पैसा नचल्ने भन्दै नेपाली दिन भने । जोशीले नेपाली रुपियाँ आफुसंग नभएको भन्दै भारुमै कारोबार गरिदिन आग्रह गर्दा समेत बिक्रेताले नमानेपछि जोशीले मोबाइल बैंकिड्ढबाट भुक्तानी गरेर फर्किए । यस्तै शैल्यशिखर नगरपालिका–७ का प्रेम धामी एक हार्डवयर पशलमा सरिया, सिमेन्ट किन्न गए । बिक्रेताले सुरुमै सोधे, तपाईंसँग भारु छ कि नेरु ? धामीले भारु भएको बताए । बिक्रेताले भारु नचल्ने चलाउनै पर्ने भए पुरा पैसा नपाइने भनेपछि धामी सामान नकिनिकनै फर्किए ।

केही समयअघिसम्म सीमावर्ती बजारमा किनमेल तथा उपचारका लागि जान भारुको हाहाकार हुन्थ्यो । नेपालतर्फ पनि भारु देख्नेबित्तिकै संकलन गरेर राख्थे । नेरुबाट भारु सटहीका लागि कमिसन पनि दिनुपथ्र्यो । तर अहिले ठीक उल्टो भएको छ । नेपालमा भारतीय रुपैयाँ कमजोर हुनुका साथै कतिपय ठाउँमा कारोबार नै नहुने अवस्था आएको छ । बजारमा मात्रै होइन गाउँमा पनि भारु नचल्ने अवस्था आएको लेकम गाउँपालिका–५ का व्यवसायी कृष्णदेब जोशीले बताउनुभयो । पहिले भारतबाट सामान आउथ्यो, उहाँले भन्नुभयो, भारतीय सामान किन्नका लागि भारुको खोजि गरिन्थ्यो, अहिले अधिकासं सामान नेपालकै खरिदबिक्री भइरहेको छ । दार्चुलाको अधिकासं गाउँमा सामान जाने गोकुलेश्वर लगायत बजारमा भारु चलाउन मान्दैनन । भारतमा रोजगारी गरेर घर फर्किनेहरूका लागि पनि अहिले भारुबाट नेरु सटही चिन्ताको विषय हुन थालेको छ । पहिले भारु पाउदा कमिसन दिन तम्सिने व्यापारीहरूले नै अहिले नेरु साटदा कमिसन माग्ने गरेका छन् । एक हजार भारु १५ सयमै चलाउनुपर्ने अवस्था आएको खलंगाका एक व्यापारीले बताउनुभयो ।

भारतको उत्तराखण्ड पिथौरागढबाट नेपाल आउने भारतीयहरूले पनि भारु सटहीमा समस्या भोग्नुपरेको गुनासो गरेका छन् । करिब दुई महिना पहिलेदेखि भारु कमजोर हुँदा स्थानीय सेवाग्राही र व्यवसायी पनि मारमा परेका छन । हाल आएर भारुको चलनचल्तीमै समस्या देखिन थालेको उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेशसिंह थापाले जानकारी दिनुभयो । भारततर्फको कारोबार कम हुँदै गएको र भारु भित्रिने क्रम यथावत् रहेकाले अहिले भारु कमजोर देखिएको उहाँले बताउनुभयो । खलंगाका व्यवसायी मनोहर डागाले भन्नुभयो, पछिल्लो समय उपचारदेखि किनमेल सबै स्वदेशी बजारमै हुने भएकाले भारुको माग कम हुँदै गएको छ । विगतमा किनमेलदेखि उपचारका लागि भारुको धेरै भाग थियो, अहिले त्यो छैन, उहाँले भन्नुभयो, भारु भित्रिने क्रम यथावत् छ, तर खर्च भइरहेको छैन, त्यही भएर कमजोर देखिएको हो । स्थानीय बजारमा व्यापार व्यवसाय बढेका कारण पनि भारु कमजोर भएको उहाँको भनाई छ ।

नेपालमा एक सय भन्दा माथिका भारतीय नोटहरू प्रतिबन्धित छन । तर भारतबाट घुमफिर, किनमेल र उपचारका लागि आउनेले बोक्नका लागि सहज हुने भएकाले ठूला नोट ल्याएर आउँछन । भारतबाट रोजगारी गरेर फर्किनेहरूले पनि ठूलो मात्रामा प्रतिबन्धित नोटहरू ल्याएर फर्किन्छन । प्रतिबन्धित नोट धेरै भएका कारण पनि अहिले भारु कमजोर भएको व्यवसायीहरु बताउछन् । भारु नोटहरु बजारमा छ्यापछ्याप्ती छन, विगतमा भारुको सटही गर्दै आएका रमेश खत्रीले भन्नुभयो, भारु कमजोर हुँदा सीमावर्ती क्षेत्रको व्यापार व्यवसायसमेत प्रभावित भएको छ । भारतमा रोजगारी गर्दै आएका अधिकासंले भारतीय ठूला नोट बोकेर फर्किदा नेपालमा चलाउनै समस्या भएको बताएका छन् । दार्चुलामा विदेशी मुद्राको सटही काउन्टर समेत नभएको कारण सेवाग्राहीहरु समस्यामा परेका हुन् । भारतीय बजारमा बर्षौदेखि नेपाली मुद्राको अवमूल्यन हुदै आएको थियो । अहिले नेपाली बजारमा समेत भारतीय मुद्राको अवमूल्यन बढ्दै गएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?