दार्चुला । लेकम गाउँपालिकाका वडाहरुमा बुधबार (आज) देखि गरिब घरधुरी परिचयपत्र वितरण सुरु भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्धारा स्थानीय तहहरुको समन्वय र सहकार्यमा सञ्चालित गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम बुधबारदेखि शुरु भएको हो ।
लेकम गाउँपालिकाका अधिकृत शेखर ओझाका अनुसार वडा नम्बर ५ र ६ मा बुधबार परिचयपत्र वितरण गरिएको छ । विहिबार समेत वडा नम्बर ५ मा अधिकृत शेखर ओझा र वडा नम्बर ६ मा अधिकृत नारायणदत्त भट्टको नेतृत्वमा बाँकी लाभग्राहीलाई परिचयपत्र वितरण गरिनेछ । वडा नम्बर ५ मा वडाअध्यक्ष बल्देबसिंह बोहरा र वडा नम्बर ६ मा वडाअध्यक्ष हरिबहादुर साउँदको अध्यक्षतामा परिचयपत्र वितरण गरिएको हो ।
यस्तै वडा नम्बर १ र ४ मा चैत १० र ११ गते र चैत १२ र १३ गते वडा नम्बर २ र ३ मा परिचयपत्र वितरण गरिनेछ ।
विहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म परिचयपत्र वितरण गरिने भएकोले आफु बसोबास रहेको वडा कार्यालयमा नेपाली नागरिकताको परिचयपत्र र हालसालै खिचेको एक प्रति फोटोसहित परिवारमुलि स्वयम उपस्थित भइ तोकिएको मितिमा परिचयपत्र बुझ्न अनुरोध गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया