दार्चुलाको प्रतिनिधिमण्डलद्धारा टिंकर नाका खुलाउन र सडक निर्माण गर्न प्रधानमन्त्रीसंग अनुरोध

दार्चुला । दार्चुलाको व्याँस गाँउपालिका र व्याँससंग जोडिएका राष्ट्रिय सरोकारका विषयहरुमा दार्चुलाको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई मागपत्र बुझाएको छ । व्याँस गाँउपालिकाका स्थानीय बासिन्दा एवम् पूर्व सुदुरपश्चिम प्रदेश सभा सदस्य गेल्बुसिंह बोहरा, व्याँस गाँउपालिकाका अध्यक्ष मंगल सिंह धामी, मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी, अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहरा, व्याँस गाँउपालिकाका उपाध्यक्ष विनोद सिंह कुँवर लगायत दार्चुलाका जनप्रतिनिधि र स्थानीय सहभागि प्रतिनिधिमण्डलले समग्र व्याँस गाँउपालिका र राष्ट्रिय सरोकारका विषयहरुमा नेपाल सरकारका प्रधानमन्त्री प्रचण्डलाई मागपत्र पेस गरेको हो ।

दार्चुला जिल्लाको त्रिदेशीय सीमाक्षेत्रका विभिन्न मागहरु तत्काल सम्बोधनका लागि नेपाल सरकारसंग जोडदार माग गर्दछौ, ज्ञापनपत्रमा भनिएको छ । दार्चुलाको टिंकर नाका भएर सदियौदेखि चीनको ताक्लाकोटसम्म परम्परागत व्यापार र आवागमन हुँदैआएकोमा सन् २०२० देखि कोभिड महामारीका कारण नाका बन्द रहिआएको छ । टिंकर नाका सञ्चालन नहुँदा दार्चुला जिल्लाको व्याँस क्षेत्रका बसोवास गर्ने चार दर्जनभन्दा बढी व्यापारी व्यवसायीहरुका साथै सयौं स्थानीय वासिन्दाहरुको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको छ । यो वर्ष रसुवागढी, हिल्सालगायतका नाकाहरु सञ्चालनको तयारी भइरहेको जानकारी सार्वजनिक भइरहेको छ, ज्ञापनपत्रको पहिलो बुँदामा भनिएको छ, टिंकर नाका पनि तत्काल खुलाउन तथा दार्चुलाका सीमावर्ती क्षेत्रका बासिन्दाको आवश्यकता सम्बोधन गर्न र स्थानीयको जीविकोपार्जनमा सहजता ल्याउन नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।

टिंकर नाकाबाट पवित्र कैलाश मानसरोवर यात्रा गराउन सस्तो र कम समयमा सञ्चालन गर्न सम्भव भएकोले तत्काल टिकर नाकामा अध्यागमन कार्यालय स्थापना गर्न माग गर्दछौ । साथै, टिंकर नाकाबाट पवित्र कैलाश मानसरोवर यात्रा सञ्चालनका लागि चीन सरकारसंग सहमतिको पहल गर्न माग गरिएको व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले बताउनुभयो । टिंकर नाका भएर ५ देखि ७ दिनभित्रै ५०–६० हजार रुपैयाँ खर्च गरेर पवित्र कैलाश मानसरोवर यात्रा गराउन सम्भव रहेको कुरा समेत प्रधानमन्त्रीलाई स्मरण गराइएको उहाँले बताउनुभयो । हाल हिल्सा र रसुवागढी नाकाबाट कैलाश यात्रा गराउन ९/१० दिनको अवधि र २ लाख रुपैयाँको पर्यटकीय प्याकेज रहेको छ ।

नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको महाकाली कोरिडोरअन्तर्गतको दार्चुला–टिंकर सडक खण्ड (७८ किलोमिटर लामो) को निर्माणकार्य आर्थिक वर्ष २०७८/७९ देखि नेपाली सेनामार्फत भइरहेको छ । मित्रराष्ट्रहरु भारत र चीनको सीमाक्षेत्र जोडिने यो सडक खण्डको निर्माणका लागि चालु आर्थिक वर्षमा सरकारबाट नेपाली सेनालाई रु नौँ करोड ५० लाख मात्रै बजेट उपलब्ध गराइएकोमा यो वर्ष जम्मा दुई किलोमिटर मात्रै सडकको नयाँ ट्रयाक निर्माण गर्ने लक्ष्य राखिएको छ । नेपाली सेनाले वार्षिक लक्ष्यअनुसारको भौतिक र वित्तिय प्रगति छ महिनामै हासिल गरिसकेको छ र बजेट अभावका कारण गत पुस २६ गतेदेखि टिंकर सडक खण्डको निर्माण कार्य बन्द अवस्थामा छ ।
टिंकर सडक निर्माणमा नेपाल सरकारको नीतिगत प्राथमिकता भए पनि पर्याप्त बजेट उपलब्ध नहुदा नेपाली सेनाले द्रुतगतिमा सडक निर्माण गर्नसक्ने अवस्था नरहेको व्याँस गाउँपालिकाले जनाएको छ । त्रिदेशीय सीमाक्षेत्रमा निर्माण भइरहेको यस सडक खण्डमा तत्काल थप बजेट व्यवस्थापन गरी व्याँस गाउँपालिकाको वडा नम्बर १ टिंकर भञ्ज्याङसम्मको प्रस्तावित सडक निर्माण दुई वर्षभित्र निर्माण गरिसक्न सीमाक्षेत्रका जनताका तर्फबाट जोडदार माग गरिएको अध्यक्ष धामीले बताउनुभयो ।

दार्चुलाको चीनसंग जोडिएको टिंकर नाका सञ्चालनका लागि व्याँस गाउँपालिकाले अनुरोध गरिरहेको छ । केही दिन पहिले नेपाल चाइना हिमालयन फ्रेन्डसिप सोसाइटीका उपाध्यक्ष तथा पूर्वमन्त्री गणेश सिंह ठगुन्नाको नेतृत्वमा व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, निवर्तमान प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा, दार्चुलाका अन्य सरोकारवालाहरुसहितको प्रतिनिधिमण्डलले नेपालका लागि चीनका राजदूत चेन गीतसँग शिष्टाचार भेट गरेर टिंकर नाका सञ्चालनको माग गरेका थिए ।

सायद ९ जना मानिसहरू, बसिरहेका मानिसहरू र उभिएका मानिसहरू को फोटो हुनसक्छ

फोटो विवरण उपलब्ध छैन।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?