दार्चुला । विद्यार्थीले यस वर्ष भर्नासँगै पाठ्यपुस्तक पाएका छन् । चैत ५ गते मंगलबार पाठ्पुस्तक दिवसको अवसरमा विद्यार्थीलाई पुस्तक वितरण गरिएको महेन्द्र नमुना माबि खलंगाका प्रधानाद्यापक रामदत्त जोशीले जानकारी दिनुभयो । विद्यार्थीलाई भर्नासंगै स्वागत गरिएको र किताब वितरण गरेर शुभकामनासहित घर पठाइएको उहाँले बताउनुभयो । दार्चुलामा आधारभूत र माध्यमिक तहमा गरी झण्डै २३ हजार विद्यार्थी अध्ययनरत छन् । भर्ना सप्ताहभित्रै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने गरी वितरण कार्य भइरहेको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जयराज पन्तले बताउनुभयो ।
वैशाख ५ गते पाठ्यपुस्तक दिवस मनाइन्छ, उहाँले भन्नुभयो, विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक सबै विद्यार्थीको हातमा पुगिसक्छ । जनक शिक्षा सामग्री केन्द्र क्षेत्रीय कार्यालय धनगढीबाट जिल्लाका स्टेशनरीहरुले केही छिटफुट बाहेक विद्यार्थीको माग बमोजिमका अधिकांश पुस्तक ल्याइसकेका छन् । सुदूरपश्चिमको दार्चुला, बझाङ, बाजुरालगायत विकट जिल्लालाई पहिलो प्राथमिकतामा राखेर पाठ्यपुस्तक वितरण गरिएको जनक शिक्षा सामग्री केन्द्र धनगढीका प्रमुख धुब्रराज पन्तले जानकारी दिनुभयो । सबै पहाडी जिल्लामा पुस्तक पठाइसकेको उहाँले बताउनुभयो । माग भएको अधिकांश पुस्तक जिल्लामा ल्याएर विद्यालयहरुलाई वितरण गरिसकेको साउद पुस्तक भण्डार गोकुलेश्वरका सञ्चालक नरबहादुर साउँदले जानकारी दिनुभयो । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार दार्चुलाका नौ वटै स्थानीय तहका पुस्तक विक्रेताहरूले पाठ्यपुस्तक ल्याइसकेका छन् ।
शैक्षिक सत्रको सुरुवातमै भर्ना भएसँगै पढ्नका लागि हातहातमै पाठ्यपुस्तक पाउँदा खुसी लागेको विद्यार्थीहरुले बताएका छन् । गत वर्ष शैक्षिक सत्रको अन्तिमसम्म पुस्तक नपाउदा तालाबन्दी गर्नुपरेको थियो, शैल्यशिखर नगरपालिका–६ को मालिकार्जुन माध्यमिक विद्यालय मिलमिलीका छात्रा निशा धामीले भन्नुभयो, यो वर्ष विद्यालयमा भर्ना हुने वित्तिक्कै किताब पनि पाउदा खुसी लागेको छ ।
दार्चुलाका अधिकासं विद्यालयमा पुस्तक पुगिसकेको बताइएको छ । विभिन्न विद्यालयमा पुस्तक दिवसको अवसरमा मंगलबार (आज) पुस्तक वितरण गरिएको बताइएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया