दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय जनताको माग र आवश्यकताको आधारमा मात्रै योजनाहरु विनियोजन गरिने बताउनुभयो । दार्चुला सदरमुकामस्थित महाकाली नगरपालिकाको सभाहलमा स्थानीय तहका जनप्रतिनिधि, जिल्लास्थित कार्यालय प्रमुख, राजनीतिक दल र कर्मचारीहरुसंग गरिएको संयुक्त अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री शाहले विगतका कमजोरी सच्याएर प्रकृयागत ढंगले योजना तथा बजेट विनियोजन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री शाहले भन्नुभयो, स्थानीय टोल, वडा, पालिका हुँदै जिल्ला समन्वय समितिबाट सिफारिस भइ आएका योजनाहरुलाई आवश्यकताको आधारमा प्राथमिकिकरण गरिन्छ, मैले सबै जिल्लाको वस्तुस्थिति बुझेर बजेट निर्माणमा सहयोग पुग्ने अपेक्षा गरेको छु । उहाँले प्रक्रिया मिचेर आएका योजनाहरू अबका दिनमा कार्यान्वयन नहुने बताउनुभयो । पहुँचका आधारमा आएका योजनामा अनियमितताको कुरा सुनिएको छ, उहाँले भन्नुभयो, यो कुरालाई प्रदेश सरकारले पूर्ण रूपमा निरुत्साहित गर्नेछ । कार्यक्रमका अधिकासं सहभागिले प्रदेशका योजना पहुँचको भरमा आउने र योजना पार्न कमिसन (प्रिपेड) दिनुपर्ने अवस्था रहेको भन्दै यस्तो अवस्थाको अन्त्य हुनुपर्ने सुझाब दिएका थिए ।
निर्वाचित भइसकेपछि राजनीतिक दलभन्दा माथि उठेर जनताको सेवा गर्नुपर्ने बताउँदै उहाँले सुशासनका लागि डेलिभरीमा ध्यान दिनुआवश्यक रहेकोमा जोड दिनुभयो । कर्मचारी अभावको समस्या समाधानका लागि लोकसेवा आयोगले काम गरिरहेको उहाँले बताउनुभयो । दार्चुलाको समस्याबारे आफु जानकार रहेको बताउदै उहाँले प्रमुख समस्याहरु समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री शाहसंगै दार्चुलाबाट प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य बिक्रमसिंह धामी, लक्ष्मी बिक, प्रदेश योजना आयोगका उपाध्यक्ष मोहनदेब बिष्ट लगायत पनि दार्चुला आइपुग्नुभएको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया