दार्चुला । देशकै सातौं धाम मानिने शैल्यशिखर धाम तथा मालिकार्जुन मन्दिरमा लाग्ने पूजन जात्रा आज बिहानैदेखि सुरु भएको छ । हरेक बर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन शिखर पूजन जात्रा लाग्ने गरेको छ ।
भगवान शिवको साक्षात स्वरुपको रुपमा मालिकार्जुन धाममा पूजाअर्चना गर्ने गरिन्छ । शिवालिङगाको रुपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागा श्री अर्थात शिव–पार्वतीको मुख्य बासस्थान रहेको जनविश्वास छ । शिखर धामको पवित्र मनले दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट भई पूण्य प्राप्ति हुने, मनोकामना पूरा हुने र निसन्तानिलाई सन्तान सुख प्राप्त हुने जनविश्वास रहेको छ । हिन्दु धर्माबलम्बीहरुको आस्थाको धरोहर मानिने शैल्य शिखर धामको दर्शन गर्न विवाहित महिला तथा ब्रतबन्ध गरेका पुरुषहरु १५ दिन अगाडि देखि नै शुद्ध भएर पवित्र मनले शिखर जात्राको यात्रा गर्नुपर्ने जनविश्वास छ । शिखर पूजन जात्रामा मुख्य गरी विवाहित महिला पुरुषहरु तथा अविवाहित पुरुषहरुले ब्रतबन्ध पश्चात मात्रै जान हुने विश्वास छ ।

मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने शैल्यशिखर धामको पूजन जात्रा हेर्न दार्चुलाका मात्रै नभएर छिमेकी जिल्लाका साथै सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेका स्थानीयहरुले बताएका छन् ।

यसैबिच मालिकार्जुन धाममा लाग्ने पूजन जात्राको अवसरमा आज दार्चुलाका दुई स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।
जिल्लाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले शैल्यशिखर मालिकार्जुन धाममा पूजन जात्राको अवसरमा सार्वजनिक बिदा दिएका हुन् । दुवै पालिकामा रहेका विद्यालय तथा सरकारी कार्यालयहरु आज बन्द रहने छन् ।
श्रद्धालु भक्तजनहरुलाई धामी क्षेत्री उत्थान तथा विकास समाज नेपालले निशुल्क फलफूल बितरण समेत गरिरहेको स्थानीय राम सिह धामीले जानकारी दिनुभयो ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया