दार्चुला । माध्यमिक शिक्षा परीक्षा(एसईई) २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको सोमबारको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिनुभयो।
यो वर्ष पुरानै पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन भएकाले नतिजा पनि पुरानै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्न लागिएको हो। नयाँ निर्देशिका, २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ। नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई ‘नन ग्रेडेड’ मा राख्ने व्यवस्था छ।
कक्षा १२ मा भने लेटर ग्रेडिङ निर्देशिका–२०७८ कार्यान्वयन भइसकेको भन्दै अध्यक्ष शर्माले अर्को वर्षदेखि एसइईमा पनि नयाँ व्यवस्था लागू हुने बताउनुभयो। ‘कक्षा १२ मा लेटर ग्रेडिङ निर्देशिका–२०७८ कार्यान्वयन भइसकेको छ’, उहाले भन्नुभयो, ‘अब एसईईमा पनि नयाँ पाठ्यक्रम आउँछ, सोहीअनुसार नयाँ व्यवस्था लागू हुन्छ।’
नतिजा सकभर बिहीबार सार्वजनिक गर्ने योजना भए पनि प्राविधिक कारण नतिजा प्रकाशन हुन नसके शुक्रबार नतिजा सार्वजनिक गर्ने तयारी रहेकोसमेत शर्माले जानकारी दिनुभयो।
विद्यार्थीले प्राप्त गरेको नतिजा रुजु र प्रविष्ट गर्ने अन्तिम काम भइरहेको बोर्डले जनाएको छ । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा देशभरका चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी भएका थिए।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया