दार्चुलाको व्यास र खलङ्गा जोड्ने सडक भत्किँदा खेतमै कुहिन थाल्यो तरकारी

दार्चुला । दार्चुलाको व्यास र सदरमुकाम खलङ्गासम्म जोड्ने एकमात्र सडक खलङ्गा–तिङ्कर सडक बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिन थालेको छ ।

असार दोस्रो सातादेखि वर्षाका कारण अवरुद्ध सो सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सडक बन्द भएको हो । सडक बन्द भएपछि व्यासमा उत्पादित आलु ढुवानी गर्न नसकिँदा खेतबारीमै कुहिन थालेको कृषक हरिश धामीले बताउनुभयो ।

व्यास गाउँपालिकाको कृषि विकास शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा उत्पादन गरिएको कृषि उत्पादन खेतबारीमा कुहिन थालेपछि किसान चिन्तित भएका छन् ।

सरकारले उत्पादनमा मात्रै लगानी गरेर नहुने भन्दै उत्पादित कृषिउपजको ढुवानीमा समेत सहयोग गर्नुपर्ने व्यासका कृषकको भनाइ छ । जनभावना साना किसान कृषि सहकारी संस्था लिमिटेडले उत्पादन गरेको आलु खेतबारीमै कुहिन थालेको गाउँपालिकाको कृषि शाखाका प्रमुख विश्वेश्रप्रसाद बडूले बताउनुभयो ।

उनका अनुसार गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा किसानले उत्पादन गरेको छ सय क्विन्टल आलु खेतबारीमा कुहिन थालेको छ । एक सय क्विन्टल आलु खेतबाट निकालेको तथा पाँच सय क्विन्टल आलु खेतबारीबाट निकाल्न बाँकी रहेको उनले जानकारी दिनुभयो । ‘न त सडक छ, न त कोल्डस्टोर नै, व्यासका किसानले उत्पादन गरेको कृषिउपज दिनप्रति दिन खेतबारीमै कुहिँदै गएको छ’, कृषक अकबरसिंह धामीले भन्नुभयो ।

बजारीकरणमा कृषि ज्ञान केन्द्र दार्चुलाले सहयोग गर्ने भने पनि सडक अवरुद्ध हुँदा कृषकले उत्पादन गरेकोआलु व्यासमै कुहिन थालेको छ । ‘हरेक वर्ष असारको सुरुआतमै सडक अवरुद्ध हुन्छ, कृषकले उत्पादन गरेको तरकारी खेतबारीमै कुहिन्छ, व्यासवासीको दुःख सम्झिने कोही छैन’, अर्का किसान प्रमानन्द भट्टले भन्नुभयो । रासस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?