दार्चुला । सरकारले ५ रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैंठकले उक्त परिमाणमा सिक्का टकमरी गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
हाल नेपाल राष्ट्र बैंकको टक्सार विभागले १ रुपैयाँ र २ रुपैयाँ दरको सिक्का मात्रै टकमरी गर्दै आएकोमा अब राष्ट्र बैंकले ५ रुपैयाँ दरको सिक्का बजारमा ल्याउन लागेको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोख्रेलले बताउनुभयो।
नेपाल राष्ट्र बैंक ‘नोट छपाइ तथा सिक्का टकमरी सम्बन्धी निर्देशिका, २०६५(पहिलो संशोधन, २०७५’मा नयाँ डिजाइन हुने सिक्काको टकमरी नेपाल सरकारबाट स्वीकृति प्राप्त भएपछि मात्रै गर्न सक्ने व्यवस्था छ ।
पुरानै डिजाइनको सिक्का पुनः टकमरी भने राष्ट्र बैंकको सञ्चालक समितिबाट स्वीकृतिबाटै गर्न पाइने व्यवस्था छ ।
५ रुपैयाँ दरको नयाँ सिक्का नयाँ डिजाइनमा आउने राष्ट्र बैंक टक्सार विभाग प्रमुख थानेश्वर आचार्य बताउँछन् । सिक्काको नयाँ डिजाइनमा नेपालको संस्कृति झल्कने र राष्ट्रिय जनावर पनि अंकित हुने उहाले बताउनुभयो ।
नेपालमा यसअघि पनि ५ रुपैयाँको सिक्का प्रचलनमा रहेको थियो ।
राष्ट्र बैंकले हाल ५ रुपैयाँ दरको नोट छपाइ गर्दै आएको भए पनि सिक्का टकमरी भने गर्ने गरेको थिएन । ५ रुपैयाँ दरको नोटको आयु कम हुने र छपाइ लागत बढी पर्ने भएकोले सिक्का टकमरी गर्न लागेको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. पोख्रेलले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया