दार्चुला । ज्योतिषहरूविचको मतभेदका कारण सुदूरपश्चिममै यो वर्ष दुई दिन गौरा पर्व मनाइने भएको छ । यो वर्षको गौरा पर्व भदौ ७ गते मनाउने कि २१ गते मनाउने भन्नेमा वहस भइरहेको बेला विभिन्न ठाउँ विशेष फरकफरक निर्णय भइरहेका छन् । केही दिन पहिले विरूडापञ्चमी १८ गते र गौरा पर्व भदौ २१ गते मनाउने गरि देशकै प्रशिद्द धाम मालिकार्जुनमा अधिकांश अठोलासहित ज्योतिषहरूको भेलाले निष्कर्ष निकालेका बेला अठोला पञ्चाङ्गले ७ गते गौरापर्व मनाउनु शास्त्रसम्मत रहेको भन्दै विज्ञप्ति निकालेको छ ।
सुदूरपश्चिम प्रदेशबाट प्रकाशन भइरहेको अठोला पञ्चाङ्गले भदौ ७ गते नै गौरापर्व मनाउनु शास्त्रसम्मत हुनेमा जोड दिएको छ । गौरापर्व विरुडा पञ्चमीदेखि अष्टमीसम्म चार दिन सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा मनाइने गरिन्छ । पछिल्लो समय काठमाडौंमा समेत गौरापर्वको अवसरमा डेउडा लगायत विभिन्न कार्यक्रम आयोजना हुने गरेका छन् । एउटै तिथिमितिमा हुनुपर्ने गौरापर्व यो वर्ष ज्योतिषहरूको फरकफरक दृष्टिकोणका कारण दुई तिथिमितिमा हुने भएको हो ।
मालिकार्जुन विकास समितिको सहजिकरणमा देशकै प्रशिद्द धाम मालिकार्जुनमा साउन २२ गते ज्योतिषहरूको भेलाले भदौँ १८ गते बिरूडापञ्चमी र २१ गते गौरापर्व मनाउने निष्कर्ष निकालेपछि लेकम क्षेत्रका अधिकांश गाउँमा २१ गते गौरा मनाउने गरि तयारी भइरहेको छ । गौरा पर्व भदौँ ७ गते कि २१ गते मनाउने भन्नेमा मतभेद देखिएको बेला दार्चुला जिल्लाका प्रशिद्द ज्योतिषहरूको भेलाले गम्भीरतापूर्वक छलफल गर्दै २१ गते मनाउनु नै उपयुक्त हुने निष्कर्ष निकालेको अठोला ज्योतिष ईन्द्रदेब जोशीले जानकारी दिनुभयो । उक्त भेलामा ७ गते र २१ गते दुबै दिनको पक्षमा ज्योतिषहरूले खुलेर बहस गरेका थिए । डिल्लीराज जोशी लगायत केही ज्योतिषले नेपाल पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार ७ गते गौरा पर्व भएकोले सोही अनुसार मनाउनुपर्ने तर्क राखेका थिए । अठोला पञ्चाङ्गकार डिल्लिराज जोशीले भने ७ गतेकै गौरा पर्व शास्त्रसम्मत हुने दाबी गर्नुभएको छ । भेलामा सहभागी अधिकांश ज्योतिषहरूले महिलाहरूले एकादशी व्रत उपासना नगरिकनै दुर्वाष्टमी (गौरा अष्ठमी) पर्वमा सरिक हुन नमिल्ने भएकोले २१ गते नै गौरापर्व मनाउनु पर्ने र उक्त दिन गौराका लागि उपयुक्त रहेको निष्कर्ष निकालेका थिए ।
हाम्रो शास्त्र, संस्कृति, परम्परा, रितिरिवाज अनुसार १८ गते नै बिरुडा पञ्चमी र २१ गते दूर्वाष्टमी गौरा पर्व मनाउनु उपयुक्त छ भन्ने निष्कर्ष निकालेका हौँ, ज्योतिष हरिदत्त जोशीले भन्नुभयो । सुक्ल पक्षमा दुर्गाष्टमीको ब्रत परेमा जेष्ठा नक्षत्रको भोग हुनै पर्ने र जेष्ठा नक्षत्रको पुजाआजा महिलाहरुले गर्नैपर्ने तथा कृष्ण पक्षमा गौराष्ठमी परेमा अष्ठमीको दिन रोहणी नक्षत्रले भोग गरेको हुनैपर्ने शास्त्रीय मान्यता रहेकोले ७ गते भन्दा २१ गतेको गौरा नै उपयुक्त रहेको ज्योतिषहरूको निष्कर्ष थियो ।
तर नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृति प्राप्त अठोला पात्रोले यसअघि पनि शास्त्रसम्मत निर्णय दिएकाले गौरापर्व भदौ ७ गते नै मनाउनु शास्त्रसम्मत हुने विज्ञप्तिमा जनाइएको छ । मानसखण्ड पञ्चाङ्गमा गौरापर्व भदौ २१ गते मनाउनुपर्ने भनी भ्रम सिर्जना गरिएको जनाउँदै पञ्चाङ्गकार दिल्लीराज जोशीले उक्त पात्रो नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन भएको जानकारी दिनुभयो । अठोला पञ्चाङ्गका कानुनी सल्लाहकार जगत जोशी, पञ्चाङ्गकार डिल्लीराज जोशी र प्रकाशक सदस्य भीष्मप्रसाद जोशीले संयुक्त विज्ञप्ति जारी गर्दै मानसखण्ड पात्रोले फैलाएको भ्रमका पछि नलाग्न आग्रह गर्नुभएको छ।
यद्यपि दार्चुलाका अधिकांश अठोलासहितका ज्योतिषहरूले ७ गतेभन्दा २१ गतेको गौरा शास्त्र, परम्परा र विधिसम्मत रहेकोले १८ गते पञ्चमी र २१ गते गौरा पर्व मनाउन आग्रह गरेका छन् । ज्योतिषहरूनै आपसमा विभाजित भएपछि सुदूरपश्चिममा यो वर्ष भदौ ७ र २१ गते दुई दिन गौरा पर्व मनाइने अवस्था देखिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




