दार्चुला । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरू र १२० जना नायव प्रहरी उपरीक्षक (डीएसपी) हरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार केही जिल्ला कार्यालयका प्रमुखसहित ठूलो संख्यामा एसपी र डीएसपीको सरुवा भएको हो ।
दार्चुलाका डिएसपी तर्क राज पाण्डेयको काठमाण्डौँ उपत्यका प्रहरी प्रहरी तालिम केन्द्र रानीपोखरी सरुवा गरिएको छ । दार्चुलाको नयाँ डिएसपीमा नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्युरो उपत्यका सेक्टर नक्साल काठमाडौमा कार्यरत शिवबहादुर सिंह आउने भएका छन् । यस्तै बैतडीका प्रहरी प्रमुख डिएसपी प्रेमबहादुर शाहीको लागु औषध नियन्त्रण ब्युरो, मानव श्रोत व्यवस्थापन शाखा काठमाण्डौंमा सरुवा भएको छ । शाहीको ठाउँमा बैतडी प्रहरी प्रमुखको रुपमा डिएसपी दिपक गिरी आउने भएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत गिरीलाई बैतडी प्रहरी प्रमुखको रुपमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कास्कीका एसपी अजय केसीको नेपाल प्रहरी अंगरक्षक गण नक्साल सरुवा भएको छ भने बाराका एसपी होबिन्द्र बोगटीलाई केन्द्रीय अनुसन्धान व्युरो अनुसन्धान महाशाखामा सरुवा गरिएको छ । यस्तै, दाङका प्रमुख वीरबहादुर ओलीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखामा, रौतहटका एसपी वीरबहादुर बुढामगरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखा रानी पोखरीमा पठाइएको छ ।
नुवाकोटका रमेश पण्डितलाई प्रदेश कार्यालयको अपराध अनुसन्धान शाखा भैरहवा, डोटीका राजेन्द्रप्रसाद धमलालाई प्रहरी प्रधान कार्यालयको कानुन शाखा सरुवा गरिएको छ । पूर्वी नवलपरासीका एसपी भुवनेश्वर तिवारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रशासन शाखा महाराजगंज, पश्चिम नवलपरासीका एसपी विनोद सिलवाललाई कोशी प्रदेश प्रहरी कार्यालय, कपिलवस्तुका प्रेमबहादुर बस्नेतलाई नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर पठाइएको छ ।
सुनसरीका प्रभुप्रसाद ढकाललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आधारभूत तालिम शाखा महाराजगंज, भक्तपुरका प्रजित केसीलाई प्रदेश कार्यालय वीरगंज, उदयपुरका ज्ञानेन्द्र फुयाललाई मानव बेचबिखन अनुसन्धान व्यूरोमा सरुवा गरिएको छ ।
भदौदेखिको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट खान पाउने गरी डिएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया