दार्चुला । दार्चुलाकी ८३ वर्षीया वृद्धा भागरथी चन्दको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ । भदौ ८ गते राति मालिकार्जुन गाउँपालिका–७ की ८३ वर्षीया भागरथी चन्दको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको थियो । आइतबार दार्चुला प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेर चन्दको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका उनका नाती सहित दुईजनालाई सार्वजनिक गरेको हो । चन्दको हत्या आरोपमा उनका नाती मालिकार्जुन ७ का २१ वर्षीय दिपक चन्द र जिल्लाको दुहुँ गाउँपालिका ३ का १८ बर्षीय आशिष बमलाई प्रहरीले सार्वजनिक गरेको छ ।

भदौ ८ गते घरमा एक्लै रहेका बृद्ध एकल महिला चन्दलाई दुवै जनाले धारिलो हतियार हसियाँ, कैची र चक्कुले प्रहार गरी हत्या गरेको आरोपितहरुले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । बृद्ध महिलाको घरमा पुगेर उनीहरुले घाँटी, छाती, पेटमा हतियार प्रहार गरेको पाइएको उहाँले बताउनुभयो । चन्दको हत्या गरी उनीहरुले १०० का अमरेकी डलर नोट पाँच, तथा १००० को कोरियन नोट १ र ४० हजार रुपैयाँ लुटेको पाइएको छ । यस्तै वृद्धाले लगाएको सुनको गहना लुटेर ९० हजारमा विक्रि गरेको पाइएको पनि प्रहरीले जनाएको छ ।

भदौ ८ गते हत्या गरिएकी चन्दको शव घरभन्दा तीन सय मिटर पर भीरालो जमिनमा फाली ढाकेको अवस्थामा भाद्र ११ गते मात्रै फेला परेको थियो । हत्या लगत्तै फराररहेका दुवै जनालाई प्रहरीले भदौ १२ गते कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बसपार्क नजिकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । सदरमुकाम खलंगामा बस्दै आएका दुवैजना हत्या लगत्तै भदौ ९ गते भारतको धारचुला गएको प्रहरीले जनाएको छ ।

उनीहरुले भदौ १० गते सदरमुकाम खलंगामा सुन बिक्री गरेका थिए । दुवै जना भारतको बाटो हुँदै महेन्द्रनगर पुगेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरु दुवै जनामाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?