दार्चुला । सुदूरपश्चिम प्रदेशका पहाडी दुई जिल्लाको दुई दिनदेखि अवरुद्ध सञ्चार सेवा सुचारु भएको छ । सोमबार दिउँसो डडेलधुरामा अप्टिकल फाइबर काटिँदा दार्चुला र बैतडीको सञ्चार सेवा अवरुद्ध भएको थियो ।
वर्षापछि रुख ढलेर अप्टिकल फाइबर काटिँदा सञ्चार सेवा अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले बताएको छ । सोमबार दिउँसोेदेखि अवरुद्ध रहेको टेलिकमको सेवा मंगलबार दिउँसोपछि मात्रै सञ्चालनमा आएको छ । सञ्चार सेवा अवरुद्ध भएपछि यहाँका अरू सरकारी तथा गैरसरकारी संघसस्था, सञ्चारमाध्यम, वित्तीय कारोबार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या भएको थियो । फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा आम सेवाग्राही सञ्चार सम्पर्क विहिन हुनुपरेको थियो ।
मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द हुँदा समस्या भएको स्थानीयको गुनासो छ । अवरुद्ध सञ्चार सेवा सञ्चालनका लागि कैलालीको अत्तरियाबाट प्राविधिकको टोली खटिएर मर्मतको काम भएपछि सेवा मंगलबार दिउँसोबाट सुचारु भइसकेको नेपाल टेलिकमले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया