दार्चुला । ठूलो सपना बोकेर इजरायल गएको एक महिना नबित्दै दार्चुलाका दिपेशराज बिष्ट र लोकेन्द्र सिंह धामीसहित १० जना नेपाली विद्यार्थी कहिल्लै नफर्किनेगरी अस्ताएका छन् भने ३२ जना विद्यार्थीको उद्धार भएपनि अझै केही सम्पर्कविहिन तथा असुरक्षित छन् । सुदूरपश्चिम विश्वविद्यालयको पढ्दै कमाउदै (लर्न एण्ड अर्न) कार्यक्रम अन्तरगत इजरायल गएका लेकम गाउँपालिका–५ रिठाचौपाता टकनाका दिपेश बिष्ट र मालिकार्जुन गाउँपालिका–४ हुनैनाथका लोकेन्द्र धामी प्यालेस्टाइनी बिद्रोही समुह हमासको हमलामा परी मारिएपछि परिवार विछिप्त बनेको छ ।
कृषि क्षेत्रमा विशेषज्ञता हासिल गरिरहेका कलिला युवा विद्यार्थीको निधनले परिवार मात्र हैन समाजकै लागि क्षति भएको छ । आशाको दियो निभ्दा सिगों गाउँनै शोकमा डुबेको छ । विद्यालय र पारिवारिक स्रोतका अनुसार निकै लगनशिल, मिलनसार र पढाइमा अब्बल बिष्टको निधनले परिवारमा सन्नटा छाएको छ । दिपेश विष्टका बुवा अशोकराज विष्टको दुई दशक पहिले निधन भएको थियो । आमा पार्वती विष्टले पति वियोगको बज्रपातलाई सहेर छोराहरुको पालन पोषण गरी हुर्काउनुभएको थियो । कठोर दुःखका दिनहरु पार लाउदै छोराहरुको खुसी हेर्ने समय सुरु हुन लाग्दा छोराको मृत्युको खबर सुनेपछि दिपेशकी आमा पार्वती बेहोस हुनुभएको छ । दिपेशको परिवारमा हजुरवुवा, हजुरआमा, आमा, र एक भाइ छन् ।
अकल्पनीय मृत्युको खबरले सिगों परिवार शोकमा डुबेको छ । मृतक दिपेशकी दिदी ममता बिष्टले बंकरबाट उद्धार गरिएका विद्यार्थीको नामावली सेयर गर्दै सामाजिक सञ्जालमा लेख्नुभएकोछ, ”कठै भगवान मेरो भाइ किन अटाएन यो सुचीमा बाबु यो यथार्थ स्वीकार्नै पर्ने हो र मेरो मनले अझै तिम्रो सुखद खबरको लागि फेसबुक वाल स्क्रोल गरिरहेछु,😭 कसरी जान सक्यौँ होला, कति तड्पियौ होला तिमीले पक्कै हामीलाई बोलायौ होला, नानु ठाउँ सुरक्षित छ कि छैन भनी धेरै पटक सोध्दा विश्वविद्यालयले असुरक्षित ठाउँमा किन पठाउछ भन्यौँ हरेक विषयमा जानकार तिमी माथि मेरो बिश्वासले एकपटक सर्च पनि किन गरेन होला, त्यति धेरै अवरोधका संकेतहरूले नजाउ भनेको रहेछ हामीले किन बुझेनौ😪 नाना तिमीलाई हामीले पठायौ, त्यहाबाट पनि बमबारूद भइरहन्छ भनेर अरूलाई भनेका रहेछौ मलाई किन भनेनौ बाबु तिमी त गयौ यहाको यो हालत देखेका छौ कि छैनौ प्यारे😭 म के गरू कसरी सम्हालौ भन न😭 ”
चाडपर्वको बेला परिवारले छोरा गुमाउनु पर्दा उता हुनैनाथका लोकेन्द्र धामीको परिवारमा पनि सन्नाटा छाएको छ । धामीको घरमा हजुरआमा, आमाबुवा, श्रीमती, चार बर्षको छोरी र डेढ बर्षको छोरा छन । २०५७ सालमा जन्मिएका धामीले लेकम गाउँपालिकामै रहेको लटिनाथ नमुना मावि चौपाताबाट आईएससी एजी पढेर विएससी एजी पढ्न सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पस टिकापुरमा अध्ययनरत थिए । २०८० भाद्र २५ गते थप पढाइका लागि इजरायल गएका उनिहरुको परिवारमा खुसी छाएको थियो । तर आइतबार एक्कासी छोराको मृत्युको खबर सुन्दा परिवारमात्र हैन गाउँ नै शोकमा डुबेको छ ।
सोमबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरीको नम्बर ४४ गणका गणपति तथा एसपी डम्बरबहादुर विष्ट, जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी शिवबहादुर सिंह र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख डीएसपी भगिन्द्रबहादुर चन्दसहितको टोलीले मृतकको परिवारसँग भेटघाट गरेर सान्वना दिएका छन् । पीडित परिवारले जतिसक्दा चाँडो शव नेपाल ल्याइदिन सीडीओसहितको टोलीसँग आग्रह गरेको छ । पीडित परिवारलाई सान्त्वना दिँदै उहाँहरुले आफूहरुका तर्फबाट गर्न सकिने जति पहल गर्ने भन्दै जतिसक्दो चाँडो अब नेपाल ल्याउन सहयोग गर्ने बताएका छन् ।
दार्चुलाका यी दुई जनासँगै कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली, कैलालीकै आशिष चौधरी, धनुषाका आनन्द साह, सुनसरीका राजेश कुमार स्वर्णकार, डोटीका राजन फुलारा र पदम थापा र सल्यानका प्रवेश भण्डारीको मृत्यु भएको पुष्टि भइसकेको छ। यस्तै सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ बताइएको छ । गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि उपचार भइरहेको छ भने टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि डिस्चार्ज भएको बताइएको छ । ३२ जनाको असुरक्षित स्थानबाट उद्धार गरि सुरक्षित स्थानमा राखिएको छ ।
नेपाल सरकारले समेत इजरायलमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै भोलि राष्टिय शोक घोषणा गरेको छ । केन्द्र सरकारले मृतकका प्रतिपरिवार १० लाख र सुदूरपश्चिम प्रदेश सरकारले २ लाख राहत दिने घोषणा समेत गरेका छन् । मृतकका परिवारले छिटो उद्धार गरि शव नेपाल ल्याइदिन सरकारसंग अनुरोध गरेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




