दार्चुला । इजरायलको हमास आक्रमणमा ज्यान गुमाएका दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ टकनाका दिपेशराज बिष्ट र मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ हुनैनाथका लोकेन्द्र सिंह धामी सहित चार जना नेपालीको शव आइतबार नेपाल आइपुग्ने भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार नारायण न्यौपाने, लोकेन्द्रसिंह धामी, दीपेशराज विष्ट र आशिष चौधरीको शव कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउन लागिएको हो। उनीहरूको शव फ्लाई दुबईको जहाजबाट नेपाल ल्याउन लागिएको हो। उक्त विमान शनिबार दिउँसो १ः२५ मा उडान भर्ने र दुबई हुँदै आइतबार विहान काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
अन्य शव पहिचानको क्रममा रहेकाले पहिचानपश्चातमात्रै शवहरू नेपाल पठाइने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। त्यस्तै बेपत्ता रहेका विपिन जोशीको उपलब्ध सम्पूर्ण संयन्त्र प्रयोग गरी खोजीकार्य जारी राखेको दूतावासले जनाएको छ।
हमास आक्रमणमा परी लर्न एन्ड अर्नु कार्यक्रममार्फत् इजरायल गएका दस जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष चौधरी, बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दीपेशराज विष्ट, लोकेन्द्र सिंह धामी, धनुषाका आनन्द शाह, सुनसरीका राजेशकुमार स्वरंकार, डोटीका राजन फुलारा, पदम थापा र सल्यानका प्रवेश भण्डारी छन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया