दार्चुला । दार्चुला सदरमुकाम खलंगाको सानो बजारमा लागुऔषध सेवनकर्ता धेरै रहेका छन् । भारतसँग सीमा जोडिएको बजार भएकाले भारतबाट नै सेवन गरेर आउनुका साथै लिएर आउनेको संख्या धेरै रहेको प्रहरीको दाबी छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार सानो बजार खलंगा मात्रै तीन सय ३१ जना लागुऔषध सेवन गर्ने भेटिएका छन् । लागुऔषध नियन्त्रणका लागि प्रहरीले सक्रियता देखाएको छ । जिल्ला प्रहरी कार्यालयले लागुऔषध विरुद्धको महाअभियान संचालनमा ल्याएको दार्चुलाका प्रहरी प्रमुख डीएसपी शिवबहादुर सिंहले बताउनुभयो। उहाँका अनुसार भारतसंग सीमा जोडिएको सानो बजार खलंगा यति धेरै संख्यामा लागुऔषध सेवनकर्ता भेटिएका छन् ।
प्रहरीले लागुऔषधको महाअभियान संचालन गरेदेखि तीन सय ३१ जनालाई सानो परिमाणको चरेश तथा ट्याब्लेटसहित नियन्त्रणमा लिइएको बताएको छ । सानो परिमाणमा लागू औषध फेला पर्नेलाई सम्झाइबुझाइ छोडिएको डीएसपी सिंहले बताउनुभयो ।
यस्तै, भारतीय बजारमा लागुऔषध सेवन गरी आउने कुरालाई मध्यनजर गर्दै लागुऔषधमा संलग्न एक सय ४७ जनालाई सीमा नाकामा भारत जान रोक लगाएको प्रहरीले जनाएको छ । दार्चुलामा प्रहरीले दैनिक रुपमा लागुऔषध, गुन्डागर्दी तथा अनैतिक क्रियाकलापविरुद्ध माइकिङ गर्दै सचेतना फैलाइरहेको छ । जसले गर्दा तुलनात्मक रुपमा सुधार देखिएको प्रहरीको दाबी छ ।
पछिल्लो समय प्रहरीले सार्वजनिकस्थलमा धुम्रपान सेवन तथा विद्यालय वरपर मदिरा तथा सुर्तिजन्य पदार्थ विक्रीवितरणमा पनि रोक लगाएको छ । कसैले सार्वजनिक स्थानमा यस्ता क्रियाकलाप गरे प्रचलित कानुन बमोजिम प्रहरीले नियन्त्रणमा लिइ सजाय हुने चेतावनी समेत दिएको डीएसपी सिंहले बताउनुभयो ।
‘यहाँका धेरै सेवनकर्ताहरु भारतीय बजार धारचुलामा गएर सेवन गर्ने र सानो परिणाममा लुकाएर सँगै ल्याउने गरेको पाइयो,’ उहाँले भन्नुभयो, ‘यसलाई नियन्त्रण गर्न पुलघाटमा चेकिङमा कडाइ र सीमावर्ती धारचुला बजारमा भारतीय प्रहरीसँगको समन्वयमा उताका मेडिकलहरुलाई यस्ता औषधि गैरकानुनी रुपमा नबेच्न अनुरोध गरिएको छ ।’ यससँगै लागुऔषध सम्बन्धी सदरमुकाम क्षेत्रका मेडिकलहरुमा समेत प्रहरीद्वारा सचेत गराइएको प्रहरी नायव उपरीक्षक सिंहले बताउनुभयो ।
पछिल्लो डेढ महिनाको अवधिमा दार्चुलाबाट करिब १५ किलो लागुऔषध चरेस बरामद गर्न सफल भएको छ । लागुऔषधविरुद्धको महाअभियान संचालन सुरु गरेदेखि भदौ २६ गते ८ किलो ८ सय ५० ग्राम चरेससहित दार्चुलामा बैतडीका दुई जना पक्राउ गरिएको डीएसपी सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार असोज १७ गते शैल्यशिखर नगरपालिका–३ कर्कलेबाट मार्मा गाउँपालिकाका दुई युवक ४ किलो १०० ग्राम चरेससहित पक्राउ परेका थिए । कार्त्तिक १ गते मालिकार्जुन गाउँपालिका–८ पस्तीबाट बझाङका दुई जनालाई एक किलो ६०० ग्राम चरेससहित प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले लागुऔषधविरुद्धको महाअभियान जारी रहेको जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया