कञ्चनपुरका विपिन जोशी हमासको नियन्त्रणमा रहेको इजरायलद्धारा पुष्टि

दार्चुला । इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ । जोशी अक्टोबर ७ देखि बेपत्ता थिए । इजरायलको प्रधानमन्त्री कार्यालयले उनी हमासको बन्धकमा रहेको पुष्टि गरेको हो ।

‘हमासको बन्धकमा एक नेपाली रहेको हामी स्पष्ट पार्दै छौं,’ प्रधानमन्त्री कार्यालयका प्रवक्ता इलोन लेवीले भन्नुभयो । तर, जोशी गाजापट्टीको कुन क्षेत्रमा राखिएको छ भनेर इजरायलले प्रस्ट बताउन भने सकेको छैन ।

प्रधानमन्त्री कार्यालयले हमासको बन्धकमा जोशीसहित एक सय २२ विदेशी नागरिक रहेको बताएको छ । तीमध्ये सबैभन्दा बढी थाइल्यान्डका २४ जना छन् । उनीहरूलाई पनि किबुजबाटै बन्धक बनाएर लगिएको हो । उनीहरू कृषि क्षेत्रमा काम गर्थे । हमासले अर्जेन्टिनाका २१, जर्मनीका १८, अमेरिकाका १०, फ्रान्स र रसियाका ७/७ जना नागरिकलाई बन्धक बनाएको छ ।

हंगेरीका ४, पोल्यान्ड र पोर्चुगलका ३/३, चीन, फिलिपिन्स, रोमानिया, तान्जिनिया र बेलायतका २/२, अस्ट्रिया, ब्राजिल, क्यानडा, डेनमार्क, आयरल्यान्ड, लुथिनिया, मेक्सिको, नेदरल्यान्ड्स, सर्बिया, दक्षिण अफ्रिका, श्रीलंका, युक्रेन र उरुग्वेका एक–एक जना हमासको नियन्त्रणमा छन् । थप एक सय १८ जना इजरायली नागरिकलाई पनि हमासले बन्धक बनाएको कार्यालयले जनाएको छ ।

बन्धकमध्ये ५ जनालाई हमासले मुक्त गरेको छ । गत अक्टोबर २० मा दुई अमेरिकी नागरिक र २३ अक्टोबरमा दुई जना इजरायली वृद्धालाई हमासले छाडिदिएको थियो । २९ अक्टोबरमा एक इजरायली सेना पनि मुक्त भएका हुन् । प्रवक्ता लेवीले बन्धक बनाइकालाई निःसर्त रिहाइ गर्न अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपेक्षा गरिएको बताउनुभयो । ‘अहिलेको गाजापट्टीमा भइरहेको सेनाको स्थलगत अपरेसनको एउटा उद्देश्य बन्धकलाई मुक्त गर्नु हो,’ लेवीले भने, ‘हामी अन्तर्राष्ट्रिय समुदायको पनि भूमिका खोजिरहेका छौं ।’ हमासले इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई छोड्नुपर्ने सर्त अगाडि सारेको छ ।

जोशीलाई मुक्त गराउन सरकारले कतारको सहयोग लिनुपर्ने कतारका लागि एक पूर्वराजदूत बताउँछन् । ‘हमाससँग कतारको नजिकको सम्बन्ध भएको सबैसामु छर्लङ्गै छ । यस्तो कठिन अवस्थामा नेपालका परराष्ट्रमन्त्री यो विषयमा पहल गर्न कतार जानुपर्छ,’ उहाँले भन्नुभयाने, ‘यस्तो संवेदनशील विषयमा चिठीपत्रले मात्रै काम गर्दैन ।’

नेपालसँग बलियो श्रम कूटनीति रहेको कतारका अमिरको नेपाल भ्रमण भने इजरायल–हमास युद्धले मध्यपूर्वमा देखिएको बढ्दो तनावले अन्तिम समयमा आएर रद्द भएको छ । बीबीसीले पनि बन्धकहरूको भाग्य ‘केही हदसम्म कतारको हातमा’ रहेको उल्लेख गरेको छ । कतारले इजरायल र हमासबीचको मुख्य मध्यस्थकर्ताका रूपमा अद्वितीय भूमिका निर्वाह गरिरहेको बीबीसीले उल्लेख गरेको छ ।

राष्ट्रपति जो बाइडेन र प्रधानमन्त्री ऋषि सुनकले चार बन्धकलाई रिहा गरेकामा कतार र कतारी अमिरलाई धन्यवाद दिएका थिए । कतारले आगामी दिनमा दर्जनौं बन्धकलाई रिहा गर्न वार्ता हुन सक्ने जनाएको थियो । तर, गत शुक्रबार रातिदेखि गाजा क्षेत्रमा इजरायलको प्रवेशले अवस्था थप कठिन बनेको छ । कान्तिपुर डटकम

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?