दार्चुला । दार्चुलाको लेकम क्षेत्रको प्रशिद्ध जयपुर जात्रा सुरु भएको छ । लेकम गाउँपालिका वडा नम्बर ५ जयपुरस्थित लटिनाथ मन्दिरमा नवमीको रातभरी (आज) जात्रा लाग्ने गर्दछ । नवमीका दिन लटिनाथ मन्दीर जयपुरमा लाग्ने जात्रा हेर्न दार्चुलाका अधिकासं क्षेत्रसहित बैतडी लगायत सुदूरपश्चिमका विभिन्न जिल्ला र भारतको पिथौरागढबाट समेत भक्तजनहरु आउने गरेका मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
लेकम ५ जयपुर लटिनाथ मन्दिरमा केही दिन पहिलेदेखि नै स्थानीय र बाहिरका व्यापारी, दर्शनार्थी तथा दर्शक मानिसहरु आउँने क्रम शुरु भएको छ। मंगलबार बिहानदेखी निरन्तर मानिसहरु आएसंगै मन्दिर परिसर भरीभराउ भएको र बाजागाजा र पुजाआजाको चहलपहल पनि बढ्दै गएको बताइएको छ ।
सोमबारदेखि सुरु भएको पुजन जात्रामा मंगलबार रातभरी र बुधबार बिहाँन समेत पुजाआजासंगै खेलहरु खेल्ने, दामाहा लगायत बाजागाजाहरु बजाउने र रमाइलो गरेर जात्रा मनाउने गर्दछन् । जात्रापर्बको दिनहरुमा मन्दिरमा गएर पुजा आराधना गर्दा मनोकामना पुरा हुने जनबिश्वास रहेको पाइन्छ । जयपुर जात्रामा व्यापार व्यवसायको लागी धेरै व्यापारीहरु होटल, पसलहरु थापेर बसेका छन ।
जयपुर जात्रामा व्यापारीहरुले लाखौको व्यापार गर्ने गरेका छन । हजारौ मानिसहरुको उपस्थिति रहने जात्रामा रातभरी दामाहा बजाउँने, डेउडा, खेल, ठाडो खेल, ढुस्कु, धुमार लगायतका स्थानिय लोक संस्कृति झल्कने खेलहरु खेलेर रमाइलो गर्ने गरीन्छ ।
जात्रामा ठूलो संख्यामा मानिसहरुको भिडभाड हुने भएकोले शान्ति सुरक्षाकालागी ७० जना बढी प्रहरी परिचालन गरिएको छ । जात्रामा मदिरा, जुवातास जस्ता क्रियाकलापलाई पूर्ण निषेध गरिएको छ । हेल्थ डेस्कको समेत व्यवस्थापन गरिएको लेकम गाउँपालिका वडा नम्बर ५ ले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया