दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा प्रशासकीय भवन निर्माणको काम पछिल्लो समय तिब्र गतिमा भइरहेको छ । ढिलै भएपनि प्रशासकीय भवन बनाउने काम द्रुत गतिमा अगाडी बढेको गाउँपालिकाले जनाएको छ । विगतमा विभिन्न बाहाना बनाउदै निर्माण व्यवसायीले काममा ढिलासुस्ती गरेको थियो ।
भवन निर्माण अन्तरगत विहिबार र शुक्रबार पहिलो तला ढलान गरिएको गाउँपालिकाका इन्जिनियर केशव पालले जानकारी दिनुभयो । सुरु देखि अहिलेकै गतिमा काम भएको भए समयमै भवन निर्माण सम्पन्न भइसक्थ्यो, उहाँले भन्नुभयो, पछिल्ला दिनहरुको कार्यप्रगति देखेर गाउँपालिकाले एक वर्ष सम्झौताको म्याद थप्ने जनाएको छ ।
निर्माण व्यवसायीले चालु आर्थिक वर्षमा भवन निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको बताइएको छ । हालसम्म लेकम गाउँपालिकाको आफ्नै प्रशासकीय भवन नहुदा विगतमा खरकडा र अहिले रातामाटामा विद्यालयको भवनबाट सेवा प्रवाह हुँदै आएको छ ।
गाउँपालिकाको केन्द्र रातामाटाबाट काम सुरु गर्नुभन्दा पहिले चार बर्ष गाउँपालिकाको अस्थाई केन्द्र खरकडाबाट सेवा प्रवाह गरिएको थियो । गाउँपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण सम्पन्न भएपछि कार्यसम्पादन समेत सहज र व्यवस्थित हुने बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया