दार्चुला । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश सङ्कटपूर्ण अवस्थामा उभिएको बताउनुभएको छ । आज शनिवार पार्टीको बाग्मती प्रदेश सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले देश एउटा दोधारमा उभिएको दाबी गर्नुभयो । उहाँले अहिलेको बेला सबैले मिलेर र खासगरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्त्वपूर्ण भएको दाबी गर्दै यो व्यवस्था समावेशितामा आधारित भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले देश एउटा दोधारमा उभिएको छ । देश एउटा सङ्कटमा उभिएको छ । अहिलेको बेला हामी सबैले मिलेर, खासगरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी छ । हामीले नेपाललाई गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था स्थापित गरेका छौँ । यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो ।’ सभापति देउवाले पार्टीलाई अझै सुदृढ गर्दै तल्लो स्तरबाटै पूर्णरूपमा प्रतिबद्ध गराई बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो ।
प्रदेशलाई अधिकार नदिए सिंहदरबार घेर्छौः शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने चेतावनी दिनुभएको छ । आज शनिवार पार्टीको बाग्मती प्रदेश सम्मेलनको उद्घाटन गर्दै महामन्त्री शर्माले पार्टीको प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग उठेको भन्दै प्रदेशले राखेका मागहरू पूरा गर्न सङ्घीय सरकारलाई आग्रह गर्नुभयो । उहाँले कांग्रेस महासमिति बैठकसम्म अधिकार सम्पन्न बनाउने गरी कानुन नआए त्यो बैठकबाट निर्णय गरेर कांग्रेसले सिंहदरबार घेर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संरचना बन्यो तर अधिकार नदिएको प्रदेशको गुनासो छ । प्रदेशले मागेको के हो ? युरेनियम निकालेर ल्याइदिऊ भनेर प्रदेशले मागेको हो ? हिरा मोतीको खानी मागेको हो ? होइन । अन्तरिक्षयान बनाएर हाम्रो हातमा देउ भनेको हो ? होइन । प्रदेशले कानुन मागेको हो । अधिकार मागेको हो । त्यो दिन सकिन्छ कि सकिँदैन ? त्यो दिन नसकिने कारण के छ ? त्यसैले म मधेस प्रदेशको सभापतिजीको अभिव्यक्तिप्रति म समर्थन जनाउँदै भन्न चाहन्छु, उहाँले मधेस प्रदेशमा बोल्दा पनि भन्नुभयो । प्रदेशलाई अधिकार चाँडो दिनेगरी निजामतीसम्बन्धी, लोकसेवासम्बन्धी, आर्थिकसम्बन्धी, प्रहरीसम्बन्धी कानुन दिनुपर्छ । कांग्रेस महासमितिको बैठक हुँदासम्म त्यो अधिकार सम्पन्न बनाउने गरी कानुन आएन भने त्यही बैठकबाट निर्णय गरेर हामी आफैँ सिंहदरबार घेर्नका लागि प्रदेशका साथीहरूसहित उपस्थित हुनेछौँ ।’
महामन्त्री शर्माले रुस–युक्रेनको सेनामा अवैधानिक रूपले नेपालीलाई पुर्याउनेहरूलाई कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले युद्धमा ज्यान गुमाएका नेपालीको शव गनेर बसेर मात्रै राज्यको कर्तव्य पूरा नहुने भन्दै त्यहाँका राजदूतलाई कुरा गरेर वा सम्बन्धित निकायहरूसँग कुरा गरेर यस विषयलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह पनि गर्नुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया