दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा मेलमिलाप सम्बन्धि आधारभूत तालिम सुरू भएको छ । पुस ११ गते बुधबार उद्घाटन भएको तालिम पुस १८ गतेसम्म सञ्चालन हुने लेकम गाउँपालिका न्यायिक समितिका उजुरी प्रशासक इश्वर प्रसाद पन्तले जानकारी दिनुभयो ।
लेकम गाउँपालिका उपाध्यक्ष एबं न्यायिक समिति संयोजक माधवी जोशीको अध्यक्षतामा आयोजित तालिमको उद्घाटन सत्रमा प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै लेकम गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष महेन्द्र राज जोशी, प्रशासन शाखा प्रमुख नारायण दत्त भट्ट, रोजगार संयोजक राधाबल्लब जोशी, प्रशिक्षकद्वय कृष्ण महरा र टंक भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।
लेकम गाउँपालिका न्यायिक समितिको आयोजनामा सञ्चालित तालिमको सहजीकरण प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्र, नेपालले गरिरहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले दिगो विकासका लागि विकास, समृद्धि र सुशासनसंगै द्वन्द रूपान्तरण आवश्यक हुने बताउनुभयो । मानव समाजमा हुने हरेक किसिमको द्वन्द रूपान्तरण, व्यवस्थापन वा समाधान गर्न आवश्यक हुने उहाँको भनाई छ । तालिमका सहजकर्ताहरुलाई तालिम लिएपछि द्वन्द व्यवस्थापकको जिम्मेवारी पूरा गर्ने क्षमता विकास गर्न सुझाब दिनुभयो ।
तालिममा मेलमिलापकर्ताको काम, कर्तव्य, अधिकार र कानुनी व्यवस्थाका बारेमा प्रशिक्षण हुने अभिवक्ता कृष्ण महराले बताउनुभयो । कार्यक्रमको उद्घाटन सत्र समापन गर्दै उपाध्यक्ष माधवी जोशीले तालिममा सिकाएका कुराहरु राम्रोसंग सिकेर व्यवहारमा लागु गर्न सुझाब दिनुभयो । दिगो शान्तिका लागि उन्नत सम्बन्ध हुनुपर्ने र त्यसका लागि मेलमिलनपकर्ताहरुको महत्तपूर्ण भूमिका हुनुपर्नेमा कार्यक्रमका सहभागिहरुको जोड थियो ।
उजुरी प्रशासक इश्वर पन्तले सञ्चालन गरेको तालिम उद्घाटन सत्रमा स्वागत मन्तव्य प्रशासन अधिकृत नारायण दत्त भट्टले राख्नुभएको थियो । तालिममा लेकमका ६ वटै वडाका युवायुवतिहरुको सहभागिता रहेको छ ।
मेलमिलाप मन मिलाउने अदालत रहेकोले मेलमिलापकर्ताहरुले आफ्नो भूमिका जिम्मेवारीपुर्वक निर्वाह गर्नुपर्ने प्रशिक्षकहरुको भनाई छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया