दार्चुला । आज राति सन् २०२४ को पहिलो उल्का वर्षा अत्यधिक मात्रामा हुँदैछ । उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ ।
भूतप उल्का वर्षा आज दिउँसैदेखि अत्यधिक मात्रामा सक्रिय भए पनि नेपाली समयअनुसार राति ११ः३० बजेदेखि भोलि शुक्रबार बिहान सूर्योदय अगाडि हेर्न सकिनेछ ।
उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशमा हेरेर अवलोकनकर्ताहरुले मनोरञ्जन लिन सक्ने नासोले बताएको छ । विज्ञान सङ्ग्रहालयका कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार राति २ बजेदेखि बिहान सूर्योदय हुनुभन्दा अघिसम्म खुला आकाशमा अँध्यारो ठाउँबाट उल्काको वर्षा देख्न सकिनेछ।
उल्का वर्षा उत्तरपूर्वी भागमा देख्न सकिने छ । प्रतिघण्टा ६० देखि १२० वटासम्म उल्का अवलोकन गर्न सकिनेछ तर सोही समयमा चन्द्रमा पनि आकाशमा देखिने भएकाले यसको उज्यालोले उल्का वर्षा अवलोकनमा केही असहज हुने कार्यकारी निर्देशक शर्माको भनाइ छ।
पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिन्छ ।
उल्का वर्षालाई नेपाली जनजिब्रोमा तारा खसेको वा तारा पोइल गएको पनि भन्ने गरिन्छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया