दार्चुला । स्थानीय तह वित्तिय संस्थागत स्वमूल्याकंन (लिजा) मा दार्चुलाका सबै स्थानीय तहले प्रारम्भिक नतिजा निकालेर पेस गरिसकेका छन् । सबै पालिकाले लिजाको नतिजा पठाएपछि जिल्ला समन्वय समितिले समेत आवश्यक पृष्ठपोषण पेस गरिसकेको निमित्त जिल्ला समन्वय अधिकारी गणेशबहादुर पालले बताउनुभयो ।
पालिकाहरुले लिजामा दाबी गरेको अंक गाउँ नगरकार्यपालिकाबाट अनुमोदन गरेर पठाउनुपर्ने व्यवस्था छ । सबै पालिकाले नतिजा पेस गरिसकेको भएपनि महाकाली, मालिकार्जुन र व्याँसमा कार्यपालिकाले अनुमोदन गर्न बाँकी रहेको उहाँको भनाई छ । सबै पालिकाले दाबी गरेको अंक हेर्दा शैल्यशिखर नगरपालिकाको सबैभन्दा बढी ८९.७५ प्रतिशत रहेको छ । यस्तै दोस्रोमा मालिकार्जुन गाउँपालिकाले ८६.२५ प्रतिशत अंक दाबी गरेको छ । नौगाड गाउँपालिकाले ८३ प्रतिशत, अपिहिमाल गाउँपालिकाले ८२.२५ प्रतिशत, दुहुँ गाउँपालिकाले ८०.७५ प्रतिशत अंक दाबी गरेका छन् । यस्तै व्याँस गाउँपालिकाले ७८.२५ प्रतिशत, लेकम गाउँपालिकाले ७६.२५ प्रतिशत, मार्मा गाउँपालिकाले ७३ प्रतिशत र महाकाली नगरपालिकाले ६२.५ प्रतिशत अंक दाबी गरेको उहाँले बताउनुभयो ।
पालिकाहरुले आफुले गरेको काम तथा आफुसंग भएका कागजात, दस्ताबेजहरुको आधारमा अंक दाबी गरेपनि लिजाको गुणस्तर परीक्षण हुन बाँकी रहेको छ ।
दार्चुलाका सबै पालिकाले आफ्नो तर्फबाट लिजामा अंक दाबी गरिसकेको भएपनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गुणस्तर परीक्षण हुन बाँकी रहेको जिल्ला समन्वय समिति दार्चुलाले जनाएको छ । पौस मसान्तसम्म पालिकाहरुले वित्तिय संस्थागत स्वमूल्याकंनगरी वेभसाइटमा प्रबिष्ट गरिसक्नुपर्ने र माघ मसान्तभित्र गुणस्तर परीक्षण सहितको अन्तिम नतिजा सार्वजनिक गर्ने व्यवस्था रहेको छ ।
कसैले काम नगरिकनै, अपूर्ण काम वा फर्जी कागजसहित अंक दाबी पेस गरेको पाइएमा गुणस्तर परीक्षणको क्रममा अंक घटाएर वास्तविक नतिजा प्रकाशन गर्ने व्यवस्था रहेको उहाँले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




