दार्चुला । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका सांसदहरुलाई संसदको बैठकमा नियमित उपस्थित हुन आग्रह गर्नुभएको छ । संघीय संसदको हिउँदे अधिवेशन सुरु हुन दुई दिन बाँकी छँदा शनिबार नयाँ बानेश्वर संघीय संसद भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकमा दलका नेता ओलीले यस्तो आग्रह गर्नुभएको हो ।
विगतमा संसद बैठकमा सांसदहरु अनुपस्थित भएको सुनिने गरेको उल्लेख गर्दै ओलीले संसदमा नियमित उपस्थित हुन आग्रह गर्नुभएको हो । एमाले सांसद ठाकुर गैरेका अनुसार अध्यक्ष ओलीले संसदलाई प्रभावकारी बनाउन र जनताको पक्षमा आफूलाई खरो उतार्न सांसदहरुलाई निर्देशन दिनुभएको छ ।
संसद बैठकमा भ्रष्टाचार र सुशासनको विषयमा दह्रो रुपमा प्रस्तुत हुने र सरकारको काम कारबाही मिहीन ढंगले हेरेर उठाउनुपर्ने पनि अध्यक्ष ओलीको भनाइ छ । संघीय संसदको हिउँदे अधिवेशन सोमबार नै सुरु हुँदैछ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया