सुदूरपश्चिमसहित देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने

दार्चुला । आइतबार नेपालका धेरै स्थानहरुमा मौसम बदली भई वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार अपराह्न विशेष बुलेटिन जारी गर्दै देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने जानकारी दिएको हो । यससँगै चिसो बढ्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आइतबार सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात हुने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा वर्षा हुने छ । मधेश र पूर्वी तराईका जिल्लाहरुमा भने खासै असर पर्नेछैन ।

‘अहिलेको प्रणालीको प्रकृति हेर्दा गत बिहीबार भएको वर्षा र हिमपात जस्तै हुने देखिन्छ, तर तराई मधेशमा भने गाह्रो छ । भइहालेछ भने कतैकतै छिटपुटमात्र होला’, मौसमविद झाले भन्नुभयो । अहिले नेपालमा पश्चिमी वायुसँगै न्यूनचापीय प्रणाली भित्रिएको छ । पानी र हिउँ पार्ने प्रणाली पश्चिम क्षेत्रमा शनिबार नै भित्रिसकेको छ । त्यो विस्तारै फैलिँदै जाने छ र बदली, वर्षा र हिमपात हुने छ ।

यसको असर सोमबारसम्म देखिने छ । सोमबार साँझदेखि भने मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविद झाले जानकारी दिनुभयो ।

वर्षा र हिमपात ल्याउने मौसम प्रणालीको असरले तापक्रम घटेर चिसो बढ्ने छ । चिसोका कारण स्वास्थ्य, पर्वतारोहण, हवाई यातायात लगायत दैनिक जनजीवनमा समेत असर गर्ने सम्भावना छ । त्यसैले सतर्कता अपनाउन महाशाखाका मौसमविदले आग्रह गरेका छन् ।

यसअघि १८ माघमा पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा समेत वर्षा र हिमपात भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?