दार्चुला । नयाँ वर्ष २०८१ को स्वागत गर्न अर्थात् बिसु पर्व मनाउनका लागि गाउँघरमा तयारी तीव्र पारिएको छ । दार्चुलामा नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई बिसु पर्वका रुपमा भव्यताका साथ मनाउने संस्कृति तथा परम्परा छ ।

बिसु पर्व मनाउनका लागि काम विशेषले गाउँबाट टाढा रहेका वा विदेशीएकाहरु अहिले घर फर्किरहेका छन् । मुख्यतया पढाइ र कामको शिलशिलामा जिल्ला बाहिर रहेका र रोजगारीको सिलसिलामा भारतको विभिन्न शहरमा गएकाहरु घर फर्कने क्रम बढेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलाको खलंगा, दत्तु, लाली लगायत विभिन्न सीमानाकाबाट दैनिक रुपमा रोजगारीको सिलसिलामा भारतको विभिन्न शहर गएकाहरु फर्कने क्रम जारी छ । ग्रामीण क्षेत्रमा बिसु पर्वको तयारी तथा सामानको जोहो गर्ने चटारो चलिरहेको छ । बिसुका लागि सामान खरिद गर्न सीमावर्ती बजारमा स्थानीयवासीको भीड लाग्ने गरेको छ ।
दार्चुलाको मार्मा क्षेत्रको गुल्जर र नौगाडमा बिसु जात्राको तयारी अन्तिम अवस्थामा पुगेको स्थानीय कल्यान ठगुन्नाले बताउनुभयो । प्राचीनकालमा सञ्चार साधनको अभावमा परदेशीको रैवार घरसम्म नपुग्ने अवस्थामा वर्षमा एक पटक अनिवार्य रुपमा बिसु पर्वमा घर पुग्नु पर्ने बाध्यता थियो । बिसु पर्वमा राम्रो परिकार, परिहनका साथै रमाइलो गर्ने चलन छ ।

बिसुमा देवर भाउजू, नन्द भाउजू र साली भिनाजुबीच सिस्नु लगाउने चलन पनि छ । खासगरी बिसु पर्व बिष पखाल्ने पर्वका रुपमा मनाइन्छ । बिहानै स्नान गरी सिस्नु लगाई बिष पखाल्ने परम्परा रहेको स्थानीयवासी जयसिंह धामीले बताउनुभयो ।

सिस्नु लगाई नयाँ वर्ष मनाउने पुरानो चलन हो । अहिले बिसु पर्वलाई विशेष भेटघाटका रुपमा लिने गरिन्छ, उहाँले भन्नुभयो । नयाँ बर्ष तथा बिसु तिहार नजिकिदा सीमा नाका र भिडभाड हुने बजार क्षेत्रमा समेत कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिहले बताउनुभयो ।

मार्माको लटिनाथबाट छुट्ने सवारी चालकहरुसंग दुई मिनेट संवाद गरेर मात्रै पास दिइरहेको प्रहरीले जनाएको छ । नयाँ बर्षमा हुनसक्ने सम्भावित घटना, दुर्घटनाहरुलाइ मध्यनजर गर्दै सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?