भारतीय बाटो हुँदै खलंगाको कुञ्चा व्याँस उक्लियो

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ का व्याँसी सौका समुदायको कुञ्चा (बसाइँसराइ) खलंगाबाट व्याँस पुगेको छ । सदरमुकाम खलंगाबाट भारतीय बाटो प्रयोग गरी व्याँसीको कुञ्चा छाङरु र टिंकर गाउँमा पुगेको हो ।

छाङरुबाट १२ किलोमिटर दूरीमा रहेको टिंकर गाउँमा गत बुधवार पहिलो पटक कुञ्चा पुगेको थियो । अहिलेसम्म सबै कुञ्चा गाउँ पुगिसकेको स्थानीयले बताएका छन् । कुञ्चा खलंगाबाट पारि (भारतको धारचुला) हुँदै पाँच दिन लगाएर सितापुलबाट वारि (नेपाल) भित्रिने गरेको छ । धारचुलाबाट महाकाली नदीको किनारैकिनार सीतापुलसम्म र त्यहाँबाट टिंकर खोलाको किनारैकिनार पैदलबाटो भएर टिंकरका बासिन्दाको कुञ्चा सरेको वडाअध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो । उच्च हिमपात र जाडोका कारण यी दुई गाउँका स्थानीय हिउदको समय खलंगामा बसाइ सर्दै आएका छन् । हरेक वर्ष चैत्र–वैशाखमा भने आफ्नो थातथलो फर्किने गर्छन् ।
व्याँसमा आफ्नो मौलिक संस्कृति र परम्पराअनुसार स्थानीयले पूजापाठ, पशुपालन र खेतीपाती व्यवसाय गर्दै आएका छन् । खलंगाबाट टिंकरका लागि गाइवस्तु, खाद्यान्न र बन्दोवस्तीका सामानसहित हिडेको कुञ्चा गाउँ पुगिसकेको स्थानीय नगेन्द्र तिंकरीले बताउनुभयो । वैशाखदेखि कात्तिकसम्मको बसाइँ गाउमै हुने भएकोले स्थानीयले गाइवस्तुसँगै खाद्यान्न र बन्दोबस्तीका सामान पनि बोकेर जानुपर्ने उहाँको भनाइ छ ।

द्धन्द्धकाल अघिसम्म स्वदेशकै बाटो भएर आवतजावत गर्न मिल्ने भए पनि त्यसयता बाटो मर्मत नहुँदा व्याँसबासीले समस्या भोग्दै आएका छन् । स्वदेशबाट कुञ्चा सार्ने भरपर्दो बाटो नहुँदा स्थानीय भारतको बाटो प्रयोग गरी आवतजावत गर्दै आएको स्थानीय योगेश बोहराले बताउनुभयो । भारतीय बाटो प्रयोग गर्नुपर्दा भारतीय सुरक्षाकर्मीको दुव्र्यवहार सहनुपर्ने बाध्यता छ । कुञ्चा सार्ने बाटो भारत सरकारको निषेधित क्षेत्रमा पर्ने हुदा व्याँस जाँदा यहाँका स्थानीयले भारतीय पक्षले बहुयात्रा अनुमति दिएपछि मात्र जान पाउँछन् । नेपाली प्रशासनको सिफारिसका आधारमा भारतीय पक्षले अनुमति पत्र दिने गरेको छ ।

वैशाख २५ गते गृहसचिवको नेतृत्वमा सुरक्षा अंगका प्रमुखहरुले सेनाको हेलिकोप्टरमार्फत व्याँसक्षेत्रको भ्रमण गरेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपी मंगलबार हेलिकोप्टरमार्फत टिंकर पुग्दा स्थानीयको कुञ्चा बाटोमै थियो । टिंकर गाउँभन्दा दुई किलोमिटरको दूरीमा रहेको छियालेकमा हेलिकोप्टर ल्याण्ड गरिएको थियो । प्रहरी प्रमुखद्वय हेलिकोप्टरबाट टिंकरको छियालेक पुगेका थिए भने गृहसचिव र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख छाङरुमै झरेका थिए । गृहसचिव र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखले छाङरुका केही स्थानीयसँग स्थानीय आवश्यकता र वस्तुस्थितिबारे छलफल गरेको बताइएको छ । टिंकरको छियालेक पुगेका आइजिपीद्वयले त्यहा कार्यरत सुरक्षाकर्मीसँग भौगोलिक अवस्थिति र सुरक्षा व्यवस्थापनबारे कुराकानी गर्नुभएको थियो ।

विगतका वर्षहरुमा टिंकरका स्थानीयवासी कुञ्चा पुगेपछि मात्रै सुरक्षाकर्मी छियालेक पुग्ने गर्थे । यसपटक स्थानीयको कुञ्चा टिंकर पुग्नुअगावै गृहसचिव नेतृत्वको टोली व्यासक्षेत्र भ्रमण आएकोले प्रहरी र सशस्त्र प्रहरीको टोली गत आइतबार नै छियालेक पुगेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?