दुर्गादत्त मिश्र, दार्चुला । लेकम गाउँपालिकाको चालु आर्थिक बर्ष २०८०।८१ को अन्तिम चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम विहिबार (आज) बाट सुरु भएको छ । लेकम गाउँपालिकाको आयोजना तथा मालिकार्जुन सामुदायिक संस्थाद्धारा सञ्चालित रेडियो लोकर्दपणको सहजिकरणमा कार्यक्रम सञ्चालन भइरहेको हो । विहिबार वडा नम्बर ३ मा चालु आर्थिक बर्षको अन्तिम चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम वडा अध्यक्ष सुरेश सिंह थापाको अध्यक्षतामा सार्वजनिक सरोकारका विभिन्न बिषयहरुमाथि गहन छलफल गर्दै सम्पन्न भएको छ ।
कार्यक्रममा वडा अध्यक्ष सुरेशसिंह थापा र वडा सचिव कमलापती पन्त जवाफदेहिवक्ता रहनुभएको थियो । सुनवाई कार्यक्रममा कृष्ण स्नातक क्याम्पस लालीका क्याम्पस प्रमुख केशब राज जोशी, ईलाका प्रहरी कार्यालय लालीका प्रहरी प्रमुख डम्बर दत्त भट्ट, विओपी लालीका प्रमुख भुपेन्द्र बहादुर पाल, निर्वाचित वडा सदस्यहरु, स्थानीय, बुद्दिजिवी, उपभोक्ता समितिका पदाधिकारीहरु लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । वडाको बार्षिक प्रतिवेदन अनुसार वडा नम्बर ३ मा कुल २६ लाख रकम सहित सम्झौता भएका २७ वटा योजनाहरु सम्पन्न भई भुक्तानी भईसकेको र केहि योजनाहरुको भुक्तानी कार्य अन्तिम चरणमा रहेको वडा सचिव कमलापती पन्तले बताउनुभयो । यस्तै वडाभित्र १०५ जना महिला र ६० जना पुरुष गरी कुल १६५ जना जेष्ठ नागरिक, ११ महिला १३ पुरुष गरी २४ जना जेष्ठ दलित, ८ जना पुर्ण अपांग, १७ जना एकल महिला र ४० जना विधवा महिला रहेको वडा सचिव पन्तले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रमको खुल्ला छलफल शत्रमा महाकाली नदी क्षेत्रमा गिट्टी, वालुवा उत्खननलाई करको दायरामा ल्याउनुपर्ने, विद्युतिकरणको लागि पोल व्यवस्थापन गर्नुपर्ने, महाकाली करिडोर सडक–खण्डलाई दिगो र व्यवस्थित बनाउनुपर्ने, रतौडा टोलमा बाटो निर्माणको लागि पहल गर्नुपर्ने, गोकुलेश्वर–लाली सडकको काम दुईतर्फी रुपमा सञ्चालन गर्नुपर्ने लगायतका सुझावहरु प्राप्त भएका छन् । यस्तै वडाले केहि समय पहिले गरेको नमस्ते टावर निर्माणप्रति धन्यवाद व्यक्त गर्दै टावरको कभरेज क्षेत्र बढाउनुपर्ने लगायतका सुझाव सहभागिहरुबाट आएका छन् ।
प्राप्त सुझाव, सल्लाह ग्रहण गर्दै वडा अध्यक्ष थापाले वडा नम्बर ३ ले वडाभित्र रहेका समस्याहरुलाई समाधान गर्न निरन्तर काम गरिरहेको र अगामी आर्थिक बर्षमा बाकिँ रहेका कामहरु सम्पन्न गर्नको लागि गाउँपालिका लगायत सरोकारवालाहरुसंग समन्वय गर्ने प्रतिवद्धता जनाउनुभयो । गोकुलेश्वर–लाली सडकको लागि गाउँपालिकालाई जानकारी गराएको, वडाभरी नेर्टवक आउने गरि टावर सञ्चालनमा ल्याउन पहल भइरहेको, विद्युतिकरणको लागि पोलहरु आइपुगेको र आवश्यकता अनुसार बितरण भईरहेको र रतौडामा बाटो निर्माणको लागि गाउँपालिकासंग बजेट माग गर्ने थापाले बताउनुभयो ।
यस्तै शुक्रबार (भोली) लेकमको वडा नम्बर ५ र वडा नम्बर ६ मा सुनवाई कार्यक्रमको आयोजना गरिएकाले सरोकारवालाहरुको उपस्थितिको लागि अनुरोध गरिएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया