दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा पहिलोपटक ड्रागन फलको व्यावसायिक खेती सुरु गरेका लेकम गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष बल्देब सिंह बोहराको बारीमा ड्रागन पाक्न थालिसकेको छ । दुई वर्ष पहिले मात्रै रोपेको ड्रागनले फल दिन थालेपछि निकै खुसी लागेको वडाअध्यक्ष बोहराले बताउनुभयो ।
घर नजिकैको फलफुल बारीमा १४८ पोल तयार गरी झण्डै ६ सय ड्रागन फलका बोट लगाएकोछु, उहाँले भन्नुभयो, दुई वर्षमै ४०।५० पोलमा ड्रागन फल्न थालिसकेको छ । स्वास्थ्यका लागि समेत फाइदाजनक जिल्लामा नयाँ प्रजातिको फलका रूपमा रहेको ड्रागन फल अन्य फलफूलको तुलनामा महँगोमा बिक्री हुनेगरेका कारण राम्रो आम्दानी हुनेगरेको कृषकको भनाइ छ । यो वर्ष मात्रै फलेकोले अहिलेसम्म मूल्य निर्धारण गरेर बिक्रि गरिसकेको छैन, वडाअध्यक्ष बोहराले भन्नुभयो, सबै कुरालाई मध्यनजर गरेर उपयुक्त मूल्यमा बिक्रि गर्ने योजना छ । दुःख नगरेर कृषिमा आम्दानी हुँदैन, उहाँले भन्नुभयो, आफै खटिएर काम गर्ने हो भने राम्रो आम्दानी लिन सकिन्छ ।
आफ्नो फर्ममा बिभिन्न प्रजातीका तरकारी, फलफुल फलाउदै आउनुभएका बोहराले कृषिमा निकै मेहनतपुर्वक नमुनाकै रुपमा काम गर्दै आउनुभएको छ । मेहनत अनुसारको उत्पादन भएपछि आम्दानीसंगै सन्तुष्टी मिल्ने गरेको उहाँको भनाई छ । पछिल्लो समय देश विदेशमा ड्रागन फल प्रतिको आकर्षण बढीरहेको बेला लेकममा समेत वडाअध्यक्ष बोहराले पहिलो पटक व्यवसायीकरुपमा ड्रागन फलाउन सफल हुनुभएको हो ।
बारीमा ड्रागन फल पाकेपछि केही दिन पहिले चौपातामा सामुहिक रुपमा फल खाएर उद्घाटन समेत गरिएको उहाँले बताउनुभयो । ड्रागन फल आवश्यक भएमा सम्पर्क गर्न सकिने उहाँको भनाई छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया