दार्चुला । नेकपा (एमाले) दार्चुलाका इन्चार्ज सहदेब बोगटी र कैलालीका इन्चार्ज गणेशसिंह ठगुन्नाले पार्टी महासचिव शंकर पोखरेललाई एक वर्षको कार्यप्रगति प्रतिवेदन बुझाएका छन् । एमालेले विशेष जिम्मेवारी अन्तरगत केन्द्रीय नेताहरुलाई एक वर्ष पहिले आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिरका जिल्ला र पालिकाहरुमा इन्चार्जको जिम्मेवारीसहित खटाएको थियो । उक्त जिम्मेवारीको अवधि पुरा भएपछि कार्यप्रगति प्रतिवेदन बुझाइएको नेताहरुले बताएका छन् ।
नेकपा (एमाले) पोलिटब्युरो सदस्य एबं कैलाली जिल्ला इन्चार्ज गणेशसिंह ठगुन्नाले यो अवधिमा जिल्ला र पालिका अधिवेसन सम्पन्न गर्नुका साथै दर्जनौँ बैठक, भेला, प्रशिक्षणका कार्यक्रम सफलतापुर्वक सम्पन्न गरिएको जानकारी दिनुभयो । जिम्मेवारी निर्वाह गर्ने क्रममा सहयोग गर्ने सबैलाई उहाँले धन्यबाद समेत ज्ञापन गर्नुभएको छ । गरेका कामको विस्तृत विवरण सहितको प्रतिवेदन पार्टी महासचिव शंकर पोखरेलमार्फत पार्टीलाई बुझाएको उहाँले बताउनुभयो ।
नेकपा (एमाले) केन्द्रीय सदस्य तथा दार्चुला इन्चार्ज सहदेब बोगटीलेले २०८० असार १२ गतेदेखि २०८० चैत्र ३० गतेसम्म १२७ दिन दार्चुलामा खटिएर काम गरेको बताउनुभएको छ । दार्चुलाको इन्चार्जको जिम्मेवारीपछि जम्मा १०६ कार्यक्रममा सहभागी भएको, ६९ घण्टा पैदल हिडेको, दार्चुलाका ६१ वटा वडाहरुमध्ये ५० वटा वडामा पुगेको, जिल्ला अधिवेशन २०८० पुस १८, १९ र २० मा सर्वसम्मत सम्पन्न नेतृत्व चयन गर्दै सम्पन्न गरेको, नौँ वटै पालिकाहरूको पालिका अधिवेशन फागुन ७ गतेदेखि फागुन २२ गतेसम्म सर्वसम्मत रुपमा सम्पन्न गरिएको, २०८१ असार मसान्तसम्म ६१ वटा वडाहरूमध्ये ५८ वटा वडाको वडा अधिवेशन सम्पन्न भइसकेको र बाँकी तीन वडामा समेत चाडैं अधिवेसन आयोजना हुने बोगटीको कार्यप्रगति प्रतिवेदनमा उल्लेख छ ।
उहाँका अनुसार दार्चुलाका आठ पालिका र ४० वडामा एमालेको सम्पर्क कार्यालय स्थापना गरिएको छ । यो विचमा १०१ जनाले विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेस गरेको प्रतिवेदनमा उल्लेख छ । पार्टी सदस्यता पाँच हजार एक सय रहेकोमा दुई हजार ८३३ जनाको नविकरण कार्य भइसकेको, जिल्ला अधिवेशनबाट ८८ सदस्यिय जिल्ला कमिटी गठन गरिएको, सात सदस्यिय जिल्ला लेखा आयोग गठन गरिएको बोगटीले बताउनुभयो । दार्चुलाका ९ वटै पालिका कमिटीमा ३५७ जना संगठित रहेको, एक हजार ३२ जना वडा कमिटीमा संगठित रहेको, जिल्लामा कार्यरत १५ वटा जनसंगठनमध्ये ९ वटा जनसंगठनको जिल्ला अधिवेशन सम्पन्न भइसकेको बोगटीले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




