दार्चुला । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदुत रोब फेनले भेट गर्नुभएको छ ।
सिंहदरबारमा भएको शिष्टाचार भेटघाटका क्रममा अवसरमा मन्त्री भण्डारीले नेपालको सामाजिक तथा आर्थिक विकासको लागि संयुक्त अधिराज्य प्रमुख विकास साझेदारको रूपमा रहेको र संयुक्त अधिराज्यले नेपालमा मानव विकास, आर्थिक विकास, सुशासन एवम् मानवीय सहायता लगायतका क्षेत्रमा गरेको निरन्तर सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।
भेटमा मन्त्री भण्डारीले नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हु गइरहेको सन्दर्भमा सोको दिगो र भरपर्दो रूपमा संक्रमणकालीन व्यवस्थापन गर्नु आवश्यक रहेको बताउनुभयो । यसका लागि नेपाली उद्योग व्यवसायको विकास, प्रवर्द्धन तथा प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न र नेपालको निर्यात व्यापारमा पर्न सक्ने असर न्यूनीकरण गर्दै प्राप्त अवसरको सदुपयोग गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । मन्त्री भण्डारीले उद्योग, पर्यटन, सूचना प्रविधि लगायतका उत्पादनमूलक क्षेत्रको विकास तथा निर्यात अभिवृद्धि नेपाल सरकारको प्राथमिकताका क्षेत्रको रूपमा रहेको बताउनु भयो ।
छलफलको क्रममा मन्त्री भण्डारीले संयुक्त अधिराज्यले डिसीटिएस शुन्य भन्सार महशुलको अधिकतम लाभ लिन यस सम्बन्धी सचेतना एवम् उद्यमी तथा निर्यात व्यवसायीको क्षमता अभिवृद्धिमा सहयोगको लागि अनुरोध गर्नुभयो । साथै, उहाँले जडिबुटी, पश्मिना, चिया, तयारी पोशाक, गलैंचा लगायतका नेपालको प्राथमिकतामा परेका निर्यातयोग्य वस्तुको निर्यातमा जोड दिनुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो ।
सो अवसरमा राजदूत फेनले मन्त्री भण्डारीलाई पुनः नियुक्तिको लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । साथै, उहाँले आगामी दिनमा दुई देशबीचको व्यापार, लगानी, पर्यटन र शिक्षाको क्षेत्र थप विस्तार, सुदढ र सन्तुलित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले संयुक्त अधिराज्यको नयाँ गठित सरकारले द्विपक्षीय साझेदारीलाई प्राथमिकतामा राखेको कुरा बताउनु भयो । उहाँले नेपालसँग थप साझेदारीका कार्यक्रममा जोड दिँदै दुई मुलुक बीचको लगानी तथा व्यापार अभिवृद्धि गर्न क्रियाशील रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
भेटघाटको क्रममा संयुक्त अधिराज्यको अनुदान सहयोगमा सञ्चालन हुने एनआइवी कार्यक्रम कार्यान्वयनको तयारीको अवस्था र यसले साना तथा मझौला उद्योगहरुलाई पुर्याउने सहयोग र नयाँ सम्भावित कार्यक्षेत्रको विषयमा समेत छलफल भयो ।
भेटघाटको अवसरमा मन्त्रालयका सहसचिव श्री बाबुराम अधिकारी र जीवलाल भुसाल लगायत अन्य अन्य पदाधिकारी र परराष्ट्र मन्त्रालयका कर्मचारी एवम् संयुक्त अधिराज्यको नेपालस्थित राजदूताबासका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया