सुदूरपश्चिममा शीतभण्डारः कतै अलपत्र, कतै सञ्चालन

दार्चुला । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, अछाम, बाजुरालगायत जिल्लाका अधिकांश शीतभण्डारले स्थानीयका उत्पादन जोगाउन मद्दत पु¥याएका छन् तर केही शीतभण्डार सञ्चालन भएका छैनन् । बाजुरामा साना शीतभण्डार निर्माणाधीन छन् ।

डडेलधुरा सदरमुकाम अमरगढी नगरपालिकामा एक हजार ४५० मेट्रिक टन क्षमताको उग्रतारा शीतभण्डार खोलिएको छ । शीतभण्डारका अध्यक्ष भोजराज भट्टले साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको ६५ प्रतिशत अनुदान र उद्योगी व्यवसायीको ३५ प्रतिशत लगानीमा शीतभण्डार निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार शीतभण्डारमा हालसम्मको लगानी जोड्दा आठ करोड रुपियाँ पुगेको छ । सञ्चालक लालमणि पन्तका अनुसार दक्ष प्राविधिक नहुँदा शीतभण्डारमा समस्या आउने गरेको छ । गन्यापधुरा गाउँपालिका उपाध्यक्ष ज्ञानु सेठी देउवाका अनुसार ओखलबाटा र सिमलपुरमा दुई वटा शीतभण्डार सञ्चालनमा छन् । ओखलबाटाको शीतभण्डार सङ्घीय सरकारको विशेष अनुदान ९५ लाख रुपियाँमा तीन सय क्विन्टल क्षमताको निर्माण गरिएको हो । सिमलपुरमा ४६ लाख रुपियाँमा एक हजार क्विन्टल क्षमताको निर्माण गरिएको छ । पालिकाबाट १० लाख रुपियाँ रकम विनियोजन गरेर विद्युतीय सामग्री जडान गरेपछि शीतभण्डार सञ्चालन गरिएको छ । भागेश्वर गाउँपालिकाको बगरकोटमा ३० टन क्षमताको शीतभण्डार निर्माण गरिएको चार वर्षपछि जेठदेखि मात्रै सञ्चालन भएको छ । गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको संयुक्त लगानीमा ४१ लाख रुपियाँमा शीतभण्डार निर्माण सुरु गरिएको थियो । आलीताल गाउँपालिकामा बनाइएको शीतभण्डार अलपत्र छ । गाउँपालिका कार्यालयको प्रवेशद्वारमै निर्माण भइरहेको शीतभण्डार अलपत्र परेको हो । पालिकाका अध्यक्ष शेर पार्कीका अनुसार २०७८ असार ४ गते काम सक्ने सम्झौता भए पनि निर्धारित समयमा काम नसकेर निर्माण कम्पनी सम्पर्कविहीन भएको छ ।

शीतभण्डार अधुरै, किसान मर्कामा
बैतडीमा करोडौँ रुपियाँ खर्च गरेर निर्माण सुरु गरिएका तीन वटा शीतभण्डारको काम पूरा नहुँदा बैतडीका किसान मर्कामा परेका छन् । शीतभण्डार नहुँदा आलुको बिउ राख्न पनि डडेलधुराका शीतभण्डारमा पु¥याउनु पर्छ । पाटन नागरपालिका–८ मा सङ्घीय सरकारको चार करोड ५० लाख रुपियाँमा तीन वर्षअघि निर्माण सुरु भएको शीतभण्डारको काम पूरा हुन सकेको छैन । सोही ठाउँको खोड्पे बजारमा पाँच वर्षअघि प्रदेश सरकार र दोगडाकेदार गाउँपालिकाको अनुदानमा निर्माण भएको अर्को शीतभण्डार अलपत्र छ । कृषि विकास निर्देशनालयले ५० लाख रुपियाँ खर्च गरेर तीन वर्षअघि दशरथ चन्द नगरपालिका–१, गुरुखोलामा निर्माणाधीन शीतभण्डार अलपत्र छ । कृषि ज्ञान केन्द्रका प्रमुख घनश्याम चौधरीका अनुसार गुरुखोलाको शीतभण्डारको ४२ लाख रुपियाँ भुक्तानी भइसक्दा ७० प्रतिशत काम बाँकी छ ।

कृषि विकास निर्देशनालय दिपायलका इन्जिनियर कोषराज बडूले गुरुखोलाको शीतभण्डार निर्माणको काम सम्झौता अनुसार नभएकाले निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने बताउनुभयो । बैतडीमा एक हजार ५०३ हेक्टरमा आलु खेती गरिने कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

शीतभण्डार निर्माणमा ढिलाइ
कैलालीको धनगढी उपमहानगरपलिका–१८ मा शीतभण्डार निर्माणमा ढिलाइ भएको छ । शीतभण्डार निर्माण गर्न २०७५ मङ्सिर १७ गते दुई वर्षमा काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो । सङ्घीय आयोजना अन्तर्गत नौ करोड २८ लाख ५७ हजार १०८ रुपियाँमा निर्माण गर्ने सम्झौतामा उल्लेख छ । २०८१ चैत मसान्तसम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी छैटौँ पटक म्याद थप गरिएको छ । उपमहानगरका कृषि शाखा प्रमुख लोकराज उपाध्यायले निर्माण कम्पनीको चरम लापर्बाहीका कारण निर्माण कार्यमा ढिलाइ भएको बताउनुभयो ।

शीतभण्डार एक वर्षदेखि बन्द
कञ्चनपुरको वेदकोट नगरपालिका–६, सिसैयामा रहेको सुसन्दीप आइस एन्ड कोल्ड स्टोर एक वर्षदेखि बन्द छ । जिल्लाकै एक मात्र शीतभण्डार बन्द भएपछि किसान र व्यवसायी मारमा परेका छन् । व्यवस्थापक कैलाश पाण्डेयका अनुसार २०८० कात्तिकसम्म चलेर बन्द भएको छ । शीतभण्डारका सञ्चालक दिवान चन्दका अनुसार २०५७ मा तीन करोड ५० लाख रुपियाँ लगानी गरेर स्थापना गर्दा सुदूर र मध्यपश्चिममा शीतभण्डार एक्लो थियो । उहाँले सरकारले पुरानालाई स्तरोन्नति गर्न ध्यान नदिएको र नयाँमा एउटैलाई १०–१२ करोडसम्म अनुदान दिएको बताउनुभयो ।

२५ करोड ऋणमा डुबेर सेवा
२०७७ फागुनदेखि सुदूरपश्चिम मोहन्याल कृषि तथा पशुपालन व्यवसाय प्रालिले घोडाघोडी नगरपालिका–१०, पहलमानपुरमा सञ्चालन गरेको शीतभण्डारमा क्षमता अनुसारको कृषि उपज भण्डारण गर्न पाएको छैन । तीन हजार मेट्रिक टन क्षमता भएको प्रदेशकै सबैभन्दा ठुलो शीतभण्डारका तीन वटा च्याम्बरमध्ये एउटा मात्र च्याम्बरमा भण्डारण गरिएको छ । बाँकी दुई वटा खाली छन् । अध्यक्ष रामबहादुर रावतले १९ करोडमा निर्मित र किस्ता तिर्न नसक्दा ऋण बढेर २५ करोड रुपियाँ पुगेको शीतभण्डार क्षमता अनुसार भण्डारण गर्न नपाउँदा बैङ्कको किस्ता तिर्न समस्या भएको बताउनुभयो ।

पाँच पालिकामा निर्माण हुँदै
बाजुराका पाँच पालिकामा चार ठुला र १४ साना शीतभण्डार निर्माणाधीन रहेका छन् । गाउँमा उत्पादन हुने स्याउ फलफूल तथा तरकारी राख्न पालिकाले शीतभण्डार निर्माण गरेका हुन् । हिमाली, स्वामीकार्तिक, जगन्नाथ, बुढीनन्दा र बडीमालिका नगरपालिकामा चार वटा ठुला र स्वामीकार्तिक गाउँपालिकामा १४ वटा साना शीतभण्डार निर्माणाधीन छन् । हिमालीमा दुई करोड, बुढीनन्दामा ७० लाख, जगन्नाथमा ५३ लाख, बडीमालिका नगरपालिकामा ४१ लाख ९६ हजार ६४५ र स्वामीकार्तिकमा ६५ लाख गरेर बाजुरामा चार करोड १९ लाख छ हजार ८३३ रुपियाँका चार ठुला र १४ वटा साना शीतभण्डार निर्माणाधीन छन् । हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले धुलाचौरमा दुई करोड रुपियाँको लागतमा शीतभण्डार निर्माण गरिएको बताउनुभयो ।

अछाममा अलपत्र
अछामको साँफेबगरमा शीतभण्डार सञ्चालन भएको छैन । पञ्चदेवल विनायक नगरपालिकामा निर्माणाधीन छ । साँफेबगर नगरपालिकालाई हस्तान्तरण गरिएको ४५ क्विन्टल भण्डारण क्षमताको शीतभण्डार विद्युत्को समस्याका कारण सञ्चालनमा आएको छैन । साँफेबगर नगरप्रमुख राजेन्द्रबहादुर कुँवरले ट्रान्सफर्मर ल्याएर जोडे पनि भोल्टेज नपुगेको र अब ३९० भोल्टेजको अर्को ट्रान्सफर्मर ल्याएर जोड्ने योजना रहेको बताउनुभयो । पञ्चदेवल विनायक नगरपालिकाले २० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरिरहेको छ । –गोरखापत्रबाट साभार

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?