यस वर्ष भदौँ ८ गते बिरुडापञ्चमी र १० गते अठेवाली गौरा मनाइने, चहलपहल सुरु

दार्चुला । सुदूरपश्चिम प्रदेशसहित देशका विभिन्न ठाउँमा मनाइने गौरा पर्व यस वर्ष यही भदौ १० गते सोमबारका दिन मनाइने भएको छ । यसपालि गौरा पुजन भाद्र कृष्णपक्षमा रहेको अठोला पञ्चाङ्गका पञ्चाङ्गकार डिल्लीराज जोशीले बताउनुभयो । पञ्चाङ्गकार जोशीका अनुसार ’कृष्ण पक्षमा पुजिने गौरालाई अँधेरी वा काली गौरा भनिन्छ ।’ भने शुक्ल पक्षको गौरालाई उजेली गौरा भनिन्छ ।

अठोला पञ्चाङ्गका अनुसार ८ भदौमा बिरुडा पञ्चमी, ९ गते षष्टी तिथि, बिरुडा धुने, नोलाको गौरा, गौरा सप्तमी, अमुक्ताभरण सप्तमी र भित्री गौरा रहेको तथा भदौ १० गते अठेवाली अर्थात् गौरापर्व मनाइनेछ । ११ भदौपछि आ–आफ्नो अनुकूलताअनुरुप गौरा सेलाउने चलन रहेको छ । दार्चुला, बैतडी लगायत विभिन्न जिल्लामा गौराष्ठमीपछि पनि धेरै दिनसम्म विभिन्न सांस्कृतिक गतिविधिका साथ गौरा मनाउने चलन छ ।

सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा मनाउन घर फर्कनेको संख्या बढ्न थालेको छ। कामको खोजीमा भारतका विभिन्न सहर पसेकाहरु गौरापर्व मनाउन स्वदेश फर्कन थालेका छन्। पढाइ र विभिन्न पेशाकाक्रममा गाउँभन्दा टाढा रहेकाहरु समेत गौरा मनाउन घर फर्किरहेका छन् । गाउँघरमा गौराको चपहलपहल सुरु भइसकेको छ ।

मौलिक पर्व गौराको अवसरमा गाउँसहरमा गौरा पुजाका साथै देउडा र स्थानीय लोकभाकाले गुन्जायमान बनाउने विभिन्न कार्यक्रमहरु आयोजना गरिन्छन् । परम्परागत फाग, गौराको गीतिकथा गाउँदै पूजा गरेर गौरीको प्रतिमालाई शिरमा राखेर नचाउँदै गौरा भित्र्याउने परम्परा छ।

गौरामा पाँचवटा अन्न मिसाइने बिरुडालाई भगवानको प्रसादका रूपमा ग्रहण गर्ने चलन छ। सप्तमीका दिन गौरालाई विधिवत रूपमा गौराघरमा भित्र्याएसँगै देउडा, चैत, धमारीलगायत सांस्कारिक गीत गाउँदै खेलेर रमाइलो गर्ने चलन सुदूरपश्चिममा रहिआएको छ। अष्टमीमा दुर्वाष्टमीको पूजा गरेपछि गौरामा पूजाको अंग वा व्रत समापन हुन्छ। परम्परागत फाग, गौराको गीतिकथा गाउँदै पूजा गरेर गौरीको प्रतिमालाई शिरमा राखेर नचाउँदै गौरा भित्र्याउने परम्परा छ।

यो पर्वमा महिलाहरू पतिको दीर्घायु र परिवारको सुखशान्तिका लागि व्रत बसेर भगवान गौरी र महेश्वर शिव र पार्वतीको पूजा आराधना गर्ने गरेका छन्। अटल शौभाग्य, सन्तान प्राप्ति, सुख र समृद्धिको कामना गर्दै व्रत बसेर गौरी र महेश्वरको पूजा गर्ने चलन छ। गौरा जीवनलाई प्रकृतिसँग जोड्ने र प्रकृति र जीवनबीचको सम्बन्धलाई उजागर गर्ने पर्व भएको स्थानीय संस्कृतिका जानकारहरु बताउछन् ।

गौरालाई प्रकृति र महेश्वरलाई ब्रह्माण्डको प्रतीकका रूपमा पूजा गर्ने चलन रहेको छ । गौराका अवसरमा खेलिने देउडा, चैत, धमारीलगायत लोकसंस्कृतिमा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक प्रसंगको विषयवस्तु उल्लेख हुने गरेको छ। सुदूरपश्चिमको मौलिक पर्वको रूपमा रहेको गौरा कर्णाली प्रदेशका केही जिल्ला, राजधानी काठमाण्डौँ लगायत विभिन्न शहर र भारतको उत्तराखण्ड, कुमाउ क्षेत्रमा पनि मनाउने चलन छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?