दार्चुला । दार्चुला सहित सुदूरपश्चिमभरी आजबाट मौलिक पर्व गौरा विधिवत् रूपमा सुरु भएको छ।
भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ। आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ । आज व्रतालु महिलाले घरमा ‘बिरुडा’ पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाएर गौराको सुरुवात गर्ने चलन रहेको छ ।
तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले शृङ्गारी त्यसभित्र पञ्च अन्न ( मास, कलौँ, गहत, गहुँ र गुरुस ) भिजाएर बिरुडा बनाउने चलन छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ । गौरादेवीको पुजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ।
पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रूपमा सुरु हुने स्थानीय देबकी जोशीले बताउनुभयो । एक महिना अघिदेखि नै शुद्ध साकाहारी र बह्मचार्यको पालना गरी बिरुडा पञ्चमीका दिन महिलाहरूले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाडामा भिजाउने गरिन्छ उहाले भन्नभयो । विरुडा भिजाँइदा माङ्गलकि सगुन फाँग गाउँछौ। बिरुडा भिजाउने बेला महिलाले स्थानीय भाषामा रहेको सगुन तथा बिरुडा भिजााउने बेलाको फाग गाउने चलन छ।
फागमा सबै नारीहरू गौरा पर्वको व्रत लिन लागेका र आफूले पनि यो व्रत लिने इच्छा गरेकाले बिरुडाका लागि आवश्यक दाल तथा अन्न सामग्री खोजीदिन महादेव (स्थानीय )भाषामा मयासर भनिने र नगरमा गएर मागिल्याउन आग्रह गरेको कुराकानीबाट कथाको आरम्भ हुने पण्डित दयाकृष्ण पन्तले बताउनुभयो ।
गौरा पर्व पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुवधागो लाउने पर्व पनि हो।यसरी भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने प्रचलन रहेको छ ।
सप्तमी र अष्टमीका दुई दिन गौराका विशेष दिनका रूपमा लिइन्छ। सप्तमीका दिन धानसँगै उम्रिएको साउँ धानजस्तै देखिने घाँस बाट गौराको प्रतीमा बनाई ‘गौराघर’मा भित्र्याउन परम्परा रहेको अर्का स्थानीय सरस्वती धामीले बताउनुभयो । गौरा हाम्रो ठूलो पर्व हो पुरुषजस्तै नारीले पनि यज्ञोपवितका रूपमा दुवधागो लगाउने गछौँ उहाले भन्नुभयो । गौरामा व्रत बसी पूजाअर्चना गर्दा श्रीमान् तथा घरपरिवारका सदस्यहरू निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धि हुने विश्वास छ।
अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथमा गौरा नचाइन्छ। त्यसैक्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ। जहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ। आजकै दिनदेखि ठाउँठाउँमा देउडा खेल समेत खेल्ने प्रचलन छ।
प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रूपमा भगवान् शिवकी अर्धाङ्गिीनी पार्वतीलाई गौरा देवीका रूपमा पूजाअर्चना गरिँदै आइएको छ । शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा पर्व हो। यो पर्व अगस्ती ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्ने गर्दछ। शुक्ल पक्षमा परेको गौरालाई ‘उज्याली गौरा’ भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई ‘अन्यारी गौरा’ भनिन्छ।
यी दुवै गौरालाई अति पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्वका साथ हेर्ने गर्दछन। दार्चुलामा आज विरुडा भिजाएर गौरा पर्व सुरु भएको छ । गौरा पर्वलाई मध्यनजर गर्दै दार्चुलामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।गौरा तथा तिजलाई सभ्य तथा भब्य तरिकाले सम्पन्न गर्न जिल्लामा सर्वपक्षिय बैठक बसी राती ८ बजेपछि डेउडा खेल लगायत मनोरन्जनात्मक कार्यक्रमहरु सञ्चालन गर्न नपाइने रक्सी सेवन बेचविखन तथा ओसारपोसार जस्ता कार्य नगर्न सुरक्षा निकाय तथा स्थानीय तहहरुलाई परिपत्र गरिसकेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो । दार्चुलामा गौरा पर्व लगत्तै विभिन्न शक्तिपिठहरुमा धोडी, खेडी लगायत जात्रा लाग्ने गरेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया