भोलि बेलुकीसम्म लगातार झरी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

दार्चुला । सुदूरपश्चिमसहित देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि केही ठाउँमा भने ठूलो पानी परेको छ । भोलि बेलुकासम्म नै लगातार पानी पर्ने सम्भावना रहेको मौसमविद गोविन्द झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पर्सि आइतवार बिहान पनि केही ठाउँमा पानी पर्ने सम्भावना छ । आइतवार दिउँसो या बेलुकीदेखि मौसममा क्रमिक सुधार हुने उहाँले बताउनुभयो । गएरातिदेखि नै ठूलो पानी परेका ठाउँमा रहेका खोला र नदीहरुमा बाढी आएको छ ।

नारायणी, कन्काई, कमला, बागमती, राप्ती, बबई लगायतका नदीहरुमा आज र भोलि बाढीको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पर्सि आइतवारसम्म नै ठूलो पानी पर्ने सम्भावना भएकाले आज र भोलि पहाडी र हिमाली क्षेत्रमा रात्रिबस नचलाउन सरकारले आग्रह गरेको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमाण्ड पोष्टको बैठकले पर्सि आइतबारसम्म ५६ वटा जिल्लामा ठूलो पानी पर्ने भएकाले पहाडी र हिमाली जिल्लामा रात्रिबस नचलाउन आग्रह गरेको हो ।

यस्तै धान नकाट्न, अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न, पहिरोको जोखिम भएका ठाउँमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन, दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान पनि सरकारले आग्रह गरेको छ ।

बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाका साथै त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण पर्सि आइतवारसम्म मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबिच ‘रेडअलर्ट’ जारी सुदूरपश्चिमका २ जिल्लामा २ दिन रात्रि बस चलाउन रोक लगाइएको छ। सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रेडअलर्ट जारी गरिएको छ। कैलाली, डोटी र अछाममा रेडअलर्ट जारी गरिएको हो। शुक्रबार सुदूरपश्चिमका एक–दुई स्थानमा अत्यधिक वर्षाको चेतावनी दिइएको छ। केही स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रातको समयमा यात्रा गर्दा बाढीपहिरोको आकलन गर्न कठिन हुने भएकाले उच्च जोखिम रहेका जिल्लामा शुक्रबार र शनिबार रात्रिकालीन बस चलाउन रोक लगाउने निर्णय गरेको हो। मौसम पूर्वानुमान महाशाखाले यसअघि विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म भीषण वर्षाको चेतावनी दिइसकेको छ भने कैलाली, डोटी र अछाममा रेडअलर्ट जारी गरेको छ।

प्राधिकरणले कैलाली र कञ्चनपुरमा भने रात्रिकालीन बस चलाउन रोक लगाएको छैन। डोटी र अछाममा रात्रिबस चलाउन रोक लगाइएको छ। प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार रेडअलर्ट जारी भएका जिल्लामा असोज ११ र १२ गते रात्रिबस नचलाउन गृह मन्त्रालयमार्फत् सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सर्कुलर जारी भइसकेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?