प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी हुनुभएको छ । संयुक्त राष्ट्र संघको ७९ औँ महासभाका क्रममा राष्ट्रपतिले आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओली, प्रथम महिला राधिका समेत सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसैबिच प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै उहाँले विसं २०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताउनुभयो । सङ्घर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको बताउँदै आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको जानकारी दिनुभयो ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी सबै मुद्दालाई सधैँका लागि समाधान गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी कानुन कार्यान्वयन गर्दा सत्य र न्यायसहित पीडितहरूको अधिकारको रक्षालाई प्राथमिकता दिनेछौँ । द्वन्द्वकालका पीडामा मल्हम लगाउने प्रयासस्वरुप क्षतिपूर्ति उपलब्ध गराउनका साथै मेलमिलापमा जोड दिनेछौँ ।” नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्रसङ्घसहित अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको उहाँले प्रशंसा गर्नुभयो । प्रधानमन्त्रीले वर्तमान विश्व आमूल परिवर्तनको मोडमा रहेको बताउँदै धनी र गरिब, सद्भाव र घृणा, आर्थिक विकास र वातावरणीय विनाशबीचको विरोधाभासमा रहेको उल्लेख गर्नुभयो । साथै उहाँले मानव जाति र पृथ्वी जलवायुको विपत्तिमा रहेको वास्तविकता प्रस्तुत गर्नुभयो ।

यसैबिच संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुभएको छ । हिजो प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका अध्यक्ष फिलेमोन याङसँग आज भेटवार्ता भएको छ । भेटका अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष याङलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ ।

यस्तै पाकिस्तानका प्रधानमन्त्री सेहबेज शरिफ र कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीसँग पनि प्रधानमन्त्री ओलीको भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीसँग चीनका विदेशमन्त्री वाङ यीले पनि भेट गर्नुभएको छ । भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको स्थापना हुनुभन्दा अगाडिदेखि नेपाल–चीन सम्बन्ध कायम भएको बताउँदै प्राचीन ऋषिमुनी र बौद्धमार्गीहरूले जनस्तरमा समेत सम्बन्ध विस्तार गरेको स्मरण गर्नुभयो ।

नेपालको समृद्धि र विकासका लागि चिनियाँ सहयोग महत्त्वपूर्ण हुने अपेक्षा गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा थप सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । चीनका विदेशमन्त्री वाङले नेपाल–चीनको पुरानो छिमेकी भएकाले आपसी सहकार्यलाई बढाउँदै नेपालको समृद्धिको यात्रामा सक्दो सघाउन चीन तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?