व्याँस गाउँपालिकामा १० दिन देखि लागेको ताला सोमबार खुल्ने, माग सम्बाेधन गर्ने सहमति

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका कार्यालय सुनसेरामा १० दिन देखि गरिएको तालाबन्दी सोमबार खुल्ने भएको छ ।

विभिन्न माग राख्दै गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी निकटका वडाध्यक्ष लगायत जनप्रतिनिधि, स्थानीय र नेता तथा कार्यकर्ताले गत भदौ २६ गते ताला लगाएका थिए । गाउँपालिकामा लगाइएको तालाका कारण सेवाग्राही समस्यामा पर्नुका साथै कामकाज ठप्प भएको छ ।

तालाबन्दी हुँदा सिफारिस पत्रहरु नपाएको, प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषि क्षेत्रका कार्यक्रमका फारामहरु भर्न नपाइएको स्थानीयको गुनासो छ । गाउँपालिकामा तालाबन्दी गरिएपछि गाउँपालिकाको दैनिक कामकाज बन्द रहेको छ । गाउँपालिकाले गर्नुपर्ने दैनिक कामकाजहरु प्रभावित भएपछि कर्मचारीको दैनिक हाजिर, दर्ता चलानी, उपभोक्ता समिति गठन तथा सम्झौता लगायत विभिन्न काम प्रभावित भएको व्याँस गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले जानकारी दिनुभयो ।

निमित्त प्रमुख प्रशासकिय अधिकृत ओझाका अनुसार आइतबार दुबै पक्षबिच छलफल पश्चात गाउँपालिकामा लगाएको ताला खोल्ने विषयमा सहमति भएको छ । तालाबन्दी गर्ने पक्षका माग सम्बोधन गर्न गाउँपालिका तयार भएपछि ताला खोल्ने सहमति भएको बुझिएको छ । आइतबार वडाअध्यक्ष लगायत सरोकारवाला सदरमुकाम खलंगा भएकोले सोमबार बिहानै ताला खोलेर कार्यालयको नियमित कामकाज शुरु गर्ने सहमति भएको उहाँले बताउनुभयो ।

वडा नं ३ तुसरपानीमा पहिराले घरहरु जोखिममा परेपछि त्यहाँका स्थानीयवासीले धुवाँमुक्त कार्यक्रमअन्तर्गत ल्याइएको जस्तापाता प्रयोग गरेर बसेका थिए । गाउँपालिकाले धुवाँमुक्त कार्यक्रमको जस्तापाता प्रयोग भएको भन्दै वडा नं ३ का पाँचवटा योजना कटौती गरेर बजेट रकमान्तर गरेपछि गाउँपालिकामा विवाद बल्झिएको हो । पाँचवटा योजना कटौतीबाट साढे चार लाख रुपैया वडामा नोक्सानी भएको भन्दै शुरु भएको आन्दोलनले राजनीतिकरण भएपछि झन उग्र रुप लिएको थियो ।

योजनाको रकमान्तर गर्ने निर्णय फिर्ता लिनुपर्ने, वडासमितिको अधिकार कुण्ठित हुने गरी बनाइएको उपभोक्ता गठनसम्बन्धी कार्यविधि २०७५ खारेज हुनुपर्ने, कोभिडको बेला भएको खर्च पारदर्शी हुनुपर्ने, गाउँपालिकामा कार्यकर्ता भर्ती बन्द गर्नुपर्नेलगायतका माग राखी तालाबन्दी गरिएको वडा नं ३ का अध्यक्ष उपेन्द्रसिंह धामीले बताउनुभयो । आफुहरुको अधिकास खोस्ने काम भएको र स्वीकृत भएका योजनाहरु वडाका जनप्रतिनिधिहरुको सहमति बिनै गाउँकार्यपालिकाबाट कटौती गरिएको र निर्णय फिर्ता गर्न मौखिक र लिखित माग गर्दा समेत सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उहाँले बताउनुभयो ।

ताला लगाउने पक्षका माग सम्बाेधन गर्ने प्रतिवद्धतापछि तालाबन्दी खोल्ने विषयमा दुबै पक्षबिच सहमति भएकाेले सोमबार देखि सेवाग्राहीहरुले सेवा पाउँने भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?