दार्चुला । सरकारले बाढीपहिरोबाट प्रभावितको तत्काल राहत तथा उद्धारका लागि विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ ।
मन्त्रिपरिषद्को हिजो बेलुका बसेको बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन–२०७४ बमोजिम विपद् व्यवस्थापन कोषमा बाढीपहिरो प्रभावितको तत्काल राहत र उद्धारका लागि अर्थ मन्त्रालयले तत्काल एक अर्ब उपलब्ध गराउने निर्णय गरेको छ ।
बैठकले अविरल वर्षापछिको बाढीरपहिरोजन्य विपद्मा ज्यान गुमाएमाप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय शोक घोषणा गर्ने र तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले बाढीपहिरो प्रभावितको खोज, उद्धार र तत्काल राहत र घाइतेको निःशुल्क उपचारमा उच्च प्राथमिकता दिने, साथै प्रभावित क्षेत्रका विस्थापित परिवारको तत्काल अस्थायी आवास र खाद्यान्न तथा सुरक्षाको प्रबन्ध मिलाउने निर्णय गरेको छ ।
विपद्मा ज्यान गुमाएकाका परिवारलाई जनही दुई लाख रुपैयाँ राहत दिने तथा गम्भीर घाइतेको उपचारको सम्पूर्ण व्यवस्था मिलाउने र उपचारमा कुनै कमी हुन नदिने समेत निर्णय गरेको छ ।
यसैगरी विपद्बाट भएको क्षतिको सम्बन्धित मन्त्रालयले आँकलन गरी तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कर्यालयमा पेस गर्ने, महत्त्वपूर्ण संरचना जस्तैः खानेपानी, पुल, सडक, दूरसञ्चार, विद्युत् मर्मत सम्भार गरी तत्काल सञ्चालनमा ल्याउन व्यवस्था मिलाउने सरकारको निर्णय छ ।
विपद् प्रभावित क्षेत्रमा रोग फैलिने नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोकथामको आवश्यक उपाय अवलम्बन गर्ने र प्रभावितको उद्धार र राहतमा सहयोग समन्वय गर्न प्रदेश तथा स्थानीय सरकारका साथै निजी क्षेत्रलाई आह्वान गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
त्यस्तै सरकारले मुख्य चाडपर्वको समयमा सार्वजनिक यातायातलाई सहज र व्यवस्थित रुपमा सञ्चालन गर्ने, चाडपर्वका बेला कृत्रिम अभाव र कालोबजारी हुन नदिन सम्बन्धित निकायले प्रभावकारी अनुगमन गर्ने निर्णय पनि गरेको छ ।
बैठकले बाढीपहिरो प्रभावितका लागि राहत कोषमा तत्काल राहत र उद्धारका लागि मन्त्रिपरिषद्को सदस्यको एक महिना बराबरको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिएर हिजो स्वदेश फर्किए लगत्तै मन्त्रिपरिषद्को बैठक बसेको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया