दार्चुला । दार्चुला सहित देशभरि चिसो बढ्न थालेको छ । आज बिहान ५ बजेर ४५ मिनेटमा काठमाण्डौको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । आजभन्दा २० दिनअघि अर्थात् अक्टोबर १ तारिखमा काठमाण्डौको न्यूनतम तापक्रम २० दशमलव ४ डिग्री सेल्सियस थियो । २० दिनमै काठमाण्डौको तापक्रम ५ डिग्री सेल्सियसले घटिसकेको छ ।
विगत चार, पाँच दिनदेखि काठमाण्डौको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियसको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो । ’पोस्ट मनसुन’ को अवस्था रहेकोले अहिले देशभर नै चिसो बढिरहेको उहाँले बताउनुभयो ।
पश्चिमी वायु र स्थानीय वायुको समेत प्रभावले केही ठाउँमा बदली र वर्षासमेत भएकोले चिसो झनै बढेको मौसमविद् लामिछानेको भनाइ छ । अब चिसो बढ्दै जाने भएकोले चिसोबाट जोगिने उपयाहरूको व्यवस्था गर्नुपर्ने उहाँको सुझाव छ । यसैबीच अहिले कोशी, मधेश, बाग्मती, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेकोले केही ठाउँमा बदली र वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ ।
कोशी, मधेश, बाग्मती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया