दार्चुला । नेकपा एमाले दार्चुलाले जिल्लाका नौँ वटै स्थानीय तहमा कार्यकर्ता भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्तिक १ गते दुहुँ गाउँपालिकाबाट सुरु भएको कार्यकर्ता भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम कार्तिक ९ गते लेकम गाउँपालिकामा पुगेर सम्पन्न भएको हो ।
कार्तिक १ गते दुहुँ गाउँपालिकामा, कार्तिक २ गते व्याँस गाउँपालिकामा, कार्तिक ३ गते महाकाली नगरपालिकामा, कार्तिक ४ गते मालिकार्जुन गाउँपालिकामा, कार्तिक ५ गते अपिहिमाल गाउँपालिकामा, कार्तिक ६ गते मार्मा गाउँपालिकामा, कार्तिक ७ गते नौगाड गाउँपालिकामा, कार्तिक ८ गते शैल्यशिखर नगरपालिकामा र कार्तिक ९ गते लेकम गाउँपालिकामा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको एमाले जिल्ला कमिटी उपाध्यक्ष परमानन्द जोशीले बताउनुभयो ।
दार्चुलाका सबै स्थानीय तहमा सम्बन्धित पालिका कमिटी अध्यक्षहरुको अध्यक्षता, एमाले पोलिटब्युरो सदस्य, दार्चुला इन्चार्ज तथा पूर्वमन्त्री गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यता र एमाले केन्द्रीय कमिटी सदस्य हरदेब जोशीसहित प्रदेश कमिटी र जिल्ला कमिटीका नेताहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । बडा दशैँ, शुभ दिपावली, छठ र नेपाल संवाद तथा स्थानीय जात्रा लगायत चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान गर्दै स्थानीय नेता, कार्यकर्ताहरुसंग भेटघाट गर्ने उद्धेश्यले सबै पालिकामा कार्यक्रम आयोजना गरिएको एमाले दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताउनुभयो ।
सबै पालिकामा आयोजित शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नासहित केन्द्र, प्रदेश, जिल्ला र पालिका कमिटीमा आवद्ध नेताहरुले शुभकामना मन्तव्यसहित सम्बोधन गरेका छन् । सबै पालिकामा पुगेर नेता ठगुन्नाले कार्यकर्तालाई पार्टी संगठन सुदृढीकरण र शुद्धीकरणको काममा क्रियाशील भएर लाग्न निर्देशन दिनुभएको छ ।
सुखी नेपाली, समृद्ध नेपाल निर्माणका लागि एमालेले राष्ट्रियताको रक्षा, ग्रामीण विकास निर्माण, सामाजिक सुरक्षा गरी समृद्धिको तीन वटा पिल्लर तयार गरेको बताउदै नेता ठगुन्नाले एमालेको अबको ध्यान आत्मनिर्भर अर्थतन्त्र निर्माण र रोजगारी स्वरोजगारी सिर्जना गर्नेतर्फ हुने प्रष्ट्याउनुभयो । एमालेसंग प्रष्ट भिजन भएकोले समृद्ध नेपाल निर्माणको लागि मिसन ०८४ मा सबै तहमा एमालेलाई एकल बहुमत दिन जनतालाई उहाँले अनुरोध समेत गर्नुभएको छ ।
शनिबार लेकम गाउँपालिकाको केन्द्र रातामाटामा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी चार जना युवाहरुले नेकपा एमालेमा प्रवेश गरेको लेकम गाउँकमिटी अध्यक्ष पुष्पराज जोशीले बताउनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया