सकेसम्म साबुन पानीले मिचिमिची २० सेकेण्डसम्म हात धुनुपर्छ । हातमा धेरै नै फोहर भएको छ भने ४० सेकेण्डसम्म नै धुनुपर्छ ।
साबुन पानी नभएको अवस्थामा भने पूरै हात भिज्ने गरी गुणस्तरीय स्यानिटाइजर दल्नुपर्छ । हात धेरै फोहर छैन, स्यानिटाइजर पनि छैन भने सफा पानीले मात्रै भए पनि हात धुन सकिने खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले बताउनुभयो । उहाँका अनुसार सफा पानीले मात्रै हात धुँदा पनि ८० प्रतिशत किटाणु नष्ट भएर जान्छ ।
यस्तै खरानी पानीले पनि मिचिमिची हात धोए किटाणु नष्ट हुने उहाँले बताउनुभयो । एक व्यक्तिले एक पटक हात धुँदा आधादेखि दुई लिटरसम्मको पानी प्रयोग गर्नु पर्ने खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले बताउनुभयो ।
कोरोना भाइरसको सङ्क्रमण सर्नुमा हात पहिलो माध्यम बन्ने भएकाले नाक, मुख छुनुअघि हातलाई सफा गर्नुपर्छ । यस्तै हात धोइसकेपछि पनि यसलाई तौलिया, हावामा सुकाएर वा पेपरले राम्ररी पुछेर सुख्खा बनाउन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमको सुझाव छ ।





प्रतिक्रिया