दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा महाशिवरात्रीको अवसरमा फागुन १४ गते बाट शुरु भएको ऐतिहासिक मेला जारी रहेको छ ।
मेलामा लुगाकपडा, मिष्ठान्न परिकारका साथै घरका लागि चाहिने स्थानीयस्तरमा उत्पादित बस्तुहरुको खरिदबिक्री भइरहेका छन् । निगाँलोबाट निर्मित डोको, मट्टा, सुप्पाको कारोबार बढी भइरहेको सप्तरगी श्रुगार पसलका सञ्चालक बिरेन्द्र प्रकाश जोशीले जानकारी दिनुभयो ।
मेलामा विभिन्न धातुका भाडाकुडाहरुका साथै फलामबाट बनेका हँसिया, बन्चरो, कोदालीहरु समेत विक्रिवितरण भएका छन् । व्यासी शौका समुदाय र तिब्बती मूलका व्यापारी समेत गोकुलेश्वर मेलामा उनबाट बनेका लुगाकपडाको व्यापार गर्न गोकुलेश्वरमा छन् । घुसा तथा खण्डेश्वरीका व्यापारीहरुले मेलामा विभिन्न प्रकारका जडिबुटीहरु ल्याएर विक्री गरिरहेको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेन्द्र बहादुर बिष्टले जानकारी दिनुभयो ।
आफन्तहरुसग भेटघाट, भलाकुसारी तथा स्थानीय उत्पादन किनबेचको लागी प्रख्यात मानिने गोकुलेश्वर मेला वर्षाका कारण प्रभावित भएको छ । हिजो-अस्तीको तुलनामा आज मेला अवलोकन गर्नेहरुको संख्या कम रहेको प्रभा ब्युटिपार्लरका सञ्चालक राजेन्द्र साउँदले बताउनुभयो ।
यसैबिच डिलासैनी गाउँपालिकाले हरिनगर क्षेत्रमा कृषि प्रद्धर्शनी मेला सञ्चालनमा ल्याएको छ । उक्त मेलामा विभिन्न कृषि साम्रगीहरु प्रदर्शनीको लागि राखिएको डिलासैनी गाउँपालिकाका प्रवक्ता यज्ञ राज भट्टले जानकारी दिनुभयो । जुम्ला र हुम्लाबाट व्यापारीहरु घोडा खच्चरहरु बिक्रि, बितरणको लागी गोकुलेश्वरमा रहेका छन् ।
दार्चुलासहित छिमेकी जिल्ला बैतडी, बझाङ, डडेल्धुरा र भारतका केहि ठाँउबाट समेत गरि हजारौँ स्थानीय गोकुलेश्वरमा शिवरात्री मेलाको अवलोकन गर्न आइपुगेका छन् । गोकुलेश्वर महाशिवरात्री मेलाको सर्वप्रथम ८४ वर्ष पहिले विक्रम संवत १९९७ सालमा गोकुलेश्वरका तत्कालीन समाजसेवी स्वर्गिय लक्ष्मण विष्टले शुरूवात गरेको पाइएको छ ।
८४ वर्ष पुरानो इतिहास बोकेको गोकुलेश्वर शिवरात्री मेला गोकुलेश्वरसहित अन्य ठाउँका व्यक्तिहरूका लागि समेत धार्मिक रूपमा आस्थाको केन्द्र बन्दै गएको छ भने व्यापारिक तवरले पनि यस क्षेत्रमा अगाडि रहेको छ ।
बर्षाको कारण मेला प्रभावित भएको व्यवसायीहरूले बताएका छन् । मौसम पुर्वानुमान महाशाखाले भने भोलीबाट मात्रै मैसममा सुधार हुने जनाएको छ । हिउँदमासको अन्तिम दिन आज दार्चुलामा भारी वर्षा भइरहेको छ ।
गोकुलेश्वर मेला २०७९ को भिडियो






प्रतिक्रिया