दार्चुला । महाकाली करिडोर अन्तरगत नेपाली सेनाले निर्माण गरिरहेको दार्चुलाको तुसरपानी-कोठेधार-टिंकर सडकमा ५ करोड बजेट थप निकासा गरिएको छ । नेपाली सेनामार्फत थप ट्याक निर्माणका लागि ५ करोड बजेट रकमान्तर गरि स्वीकृत गरिएको अर्थ मन्त्रालयका अधिकृत बुद्धिप्रसाद पन्तले बताउनुभयो ।
अर्थ मन्त्रालयले नेपाली सेनाद्वारा निर्माणाधीन “तुसरपानी-कोठेधार-टिंकर” सडक खण्डमा टिंकर छाङरु तर्फबाट पनि काम सुचारु गर्न हेली लिफ्ट गरि उक्त स्थानमा स्काभेटर र कम्प्रेसर मेसीन पुर्याउने उद्देशका साथ बजेट निकासा गरेको प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडूको सचिवालयले जनाएको छ । विगतदेखि अहिले सेनामार्फत काम भइरहेको क्षेत्र र माथि (छाङरू) बाट समेत मेसिन प्रयोग गरि सडकको ट्याक खुलाउने विषयमा गृहकार्य भइरहेको र उपकरण ढुवानी गरि थप ट्याक खुलाउने उद्देश्यले अर्थ मन्त्रालयबाट ५ करोड बजेट थप गरिएको पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले बताउनुभयो । रक्षा मन्त्रालय (नेपाली सेनाद्वारा) र भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयबाट अनुरोध भए अनुसार थप पाँच करोड रकम अर्थ मन्त्रालयबाट स्वीकृत भएको हो ।

यसरी उक्त सडकखण्डमा दुबै तर्फबाट निर्माण कार्य सुचारु भई छिटो भन्दा छिटो ‘ट्र्याक ओपन’ हुने र स्थानीयवासीले लामो समय देखि भोग्दै आउनु भएको आवत जावतको समस्याको स्थायी सामाधान हुने तथा सुदूरपश्चिम प्रदेशको त्रिदेशीय नाकाको महत्वपूर्ण र एकमात्र सडक खण्ड भएकोले दार्चुलाको पर्यटन प्रबर्द्धनका साथै त्रिदेशीय वाणिज्य ब्यापार लगायत समग्र जिल्लाको आर्थिक र भौतिक विकासमा यो प्रयास कोशेढुङ्गा साबित हुने बिश्वास गरिएको छ, सासंद बडूको सचिवालयमार्फत सार्वजनिक पोष्टमा भनिएको छ। टिंकर सडकमा बजेट अभावले सडक निर्माणमा सन्तोषजनक प्रगति हुन सकेको छैन् । दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू, पूर्वमन्त्री तथा संविधानसभा सदस्य गणेश सिंह ठगुन्ना सहित जिल्लाका सबै दलका शिर्ष नेताहरूले टिंकर सडकमा प्रयाप्त बजेट विनियोजन गर्न पटकपटक अनुरोध गरेपनि पहलले सार्थकता पाउन सकेको छैन् । नयाँ बजेटमा टिंकर सडकलाई प्राथमिकतामा राखि प्रयाप्त बजेट विनियोजन गर्न सरकारलाई अनुरोध गरिएको नेताहरूले बताएका छन् ।
टिंकर सडकमा विगतदेखि बजेट थप गरि प्राथमिकताका साथ काम अघि बढाउन निरन्तर पहल, अनुरोध गरेपनि सरकारले प्रयाप्त बजेट विनियोजन गरेको छैन् । चालू आर्थिक वर्षमा ९ करोड मात्रै विनियोजन भएकोमा आज अर्थ मन्त्रालयले थप ५ करोड निकासा दिने निर्णय गरेको छ । निकै कठिन र कडा चट्टानी भूगोल भएकोले टिंकर सडकमा अझै थप बजेट, उपकरण र जनशक्ति आवश्यक रहेको छ ।






प्रतिक्रिया