दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले दार्चुलाको उत्तरी क्षेत्रसम्म पुग्न सकस भएको भन्दै छाङरू-टिंकरसम्म पुग्ने गरि सडक निर्माण भइरहेको बताउनुभएको छ । सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले भारतको बाटो प्रयोग गर्दा नेपालीले दुःख पाएको भन्दै दार्चुलाको उत्तरी क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेर विकास गरिरहेको बताउनुभएको हो ।
“अहिले पाँच करोड बजेट विनियोजन गरेका छौं । पारीको बाटोबाट जाँदा नेपालीहरुले दुःख पाएका छन् । अहिले छाङरू देखि दुम्लिङसम्म घोडेटो बाटो निकालेपछि पक्की सडकको लागि बजेट विनियोजन गरेर तक्लाकोटसम्म जाने बाटो बनाउँछौं“, उहाले भन्नुभयो । व्याँसको वडा नम्बर १ छाङरूबाट वडा नम्बर २ दुम्लिङसम्मको घोडेटो बाटो निर्माणका लागि अर्थ मन्त्रालयले गत माघ महिनामा ५ करोड ५० लाख बजेट विनियोजन गरेको थियो ।
त्यस्तै प्रधामन्त्री ओलीले सुदूरपश्चिम सम्भावनाले निकै अगाडि रहेको पनि बताउनुभयो। प्रचुर सम्भावना हुँदा पनि प्रदेश पछाडि रहेको भन्दै अब त्यस्तो परिचय बदल्नु पर्ने अवस्था रहेको उहाँले टिप्पणी गर्नुभयो ।
यो सुन्दर मात्रै होइन सम्भावनाले भरिएको समृद्ध बन्न सक्ने प्रदेश हो । पछाडि परेको प्रदेश भन्ने परिचय अब बदल्नु पर्छ दीक्षित हुँदै गरेका विद्यार्थीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो। नयाँ पुस्ताले देशमा सम्भावनाको खोजी गर्दै दक्ष जनशक्ति निर्माणमा विश्वविद्यालय लाग्नु पर्ने उहाँको भनाइ थियो ।
गेटामा मेडीकल विश्वविद्यालय बनाउन यही वर्षबाट पढाइ सुरु हुने पनि प्रधामन्त्री ओलीले दाबी गर्नुभएको छ । पञ्चेश्वर परियोजनाको अगाडि बढाउन भारतसँग छलफल भइरहेको उहाँले बताउनुभयो ।

सुदूरपश्चिम देव भूमि रहेको भन्दै उहाँले यहाँका मठमंदिर, धार्मिक क्षेत्र पौराणिक क्षेत्र सबैको महत्व रहेको धारण व्यक्त गर्नुभयो ।
यस्तै सुदूरपश्चिम प्रदेशसभाका आइतबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानपूर्ण र लामो सङ्घर्षबाट बनाइएको संविधानले प्रबन्ध गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनालाई सम्मान गर्दै लोकतान्त्रिक विधि र पद्धतिमा हिँड्न सबैमा आग्रह गर्नुभयो।





प्रतिक्रिया