दार्चुलासहित सुदूरपश्चिममा ‘भिटौला’ पर्व शुरु

दार्चुला । चैत्र महिना शुरु भएसँगै दार्चुलासहित सुदूरपश्चिमभरि भिटौला पर्व शुरु भएको छ । चैत्र महिना सुरु भएसँगै भाईबहिनी बीचको प्रेमलाई दर्शाउने भिटौला पर्व सुरु भएको हो ।

भिटौला खास गरेर दार्चुला, बैतडी र सीमावर्ती भारतीय गाउँतिर बिहे भइसकेकी चेलीबेटीलाई माइती पक्षकातर्फबाट दाजुभाइले भेट्ने चलनको रुपमा प्रचलित छ ।
परम्परागत कथन अनुसार भारतको कुमाउमा एक दाजुले आफ्नी बहिनीलाई चैत महिनामा भेट्ने बताएको र पछि व्यस्तताका कारण भेट्न नपाएको सत्य कथासँग यो भिटौलो अर्थात् चेलीबेटीलाई भेट्ने चलन जोडिएको छ ।

वसन्त ऋतुमा पालुवा पलाउने र न्याउली तथा कोइलीको कुहुकुहु सुनिने बेला पनि हो, यही कारणले विवाह भएका चेलीहरूलाई माइतीको सम्झना हुने गर्दछ । माइती पक्षको न्यास्रो मेटाउन भिटौला जाने चलन छ ।

स्थानीय संस्कृतिका जानकार इन्द्रदेव जोशीका अनुसार अहिले भिटौला पर्वको महत्व झन बढ्दै गएको छ । पुरानो पुस्तादेखि अहिलेको पुस्तासम्म भिटौला पर्वको महत्व उत्तिकै छ। “अरु संस्कृति बरु छोड्दै गएको पाइन्छ”, उहाँले भन्नुभयो, “तर यो पर्वमा भाइबहिनीको भेट नभए खल्लो महसुस गर्ने गर्छन् ।”
पहिले मानिस खेतीपाती र घरधन्दामा व्यस्त हुने, सञ्चारको साधन नहुँदा वर्षभरि सञ्चो बिसञ्चोसमेत थाहा हुँदैन थियो । वसन्त ऋतुमा पराई घरमा छोरी चेलीलाई माइतीको सम्झना बढी आउने हुँदा यो चलन बसेको उहाँको भनाई छ।

भिटौलोमा स्थानीय परम्पराअनुसार सेलरोटी, खीर, मालपुवा, हलुवा, गुड, मिश्री, फलफूल र क्षमताअनुसार लुगा र गहनासमेत दिने चलन छ । पछिल्लो समय बजारबाट फलफूल, मिठाई, गुड लगेर दिने चलन भने बढेको पाइन्छ । भाइटीकामा दिदीबहिनी माइत जाने र चैतमा दाजुभाइले दिदीबहिनीको घर गएर भेट्ने चलन छ ।

चैत महिनामा चेलीबेटीलाई दान दिएमा राम्रो फल मिल्ने जनविश्वासका कारण पनि यसको महत्व अझै गाउँघरतिर घटेको छैन । यो महिनाभरि एकरात दिदीबहिनीको घरमा बास बस्ने चलन रहेको छ । यसले दाजुभाइ र दिदीबहिनीको प्रेम सम्बन्धलाई झन नजिक र आत्मीय बनाउने बताइन्छ ।

सामाजिक मूल्य, मान्यता, आदर्श आदिका संवाहक यस्ता किसिमका संस्कृति जीवन्त राख्नुपर्ने संस्कृतिका जानकार बताउँछन् । भौगोलिक विकटता, सञ्चार अभावमा बिहेपछि टाढा रहेका छोरीचेलीलाई माइती पक्षका भाइले वर्ष दिनमा एकपटक भेट्नुपर्ने परम्पराले सुख दुःख आदानप्रदानमा सहज बनाएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?