दार्चुला । २०६३ साल चैत्र १ गते प्रहरी तालिम केन्द्र दिपायलबाट भर्ना भई नेपाल प्रहरीमा कार्यरत दार्चुलासहित देशभरका प्रहरी युनिटहरुमा कार्यरत प्रहरी कर्मचारीहरुले सेवा प्रवेशको १८ औँ वर्षको उपलक्ष्यमा कर्तव्यपालनको सिलसिलामा दिंवगत भएका दुइ जना (प्रहरी हवल्दार) कर्मचारीका परिवारलाई आर्थिक सहयोग गरेको छ ।
कर्तव्यपालनको सिलसिलामा फागुन ७ गते दिंवगत भएका दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिल घर भएका प्रहरी हवल्दार लोकेन्द्र बहादुर खडायत र कैलाली घर भइ यसै वर्ष दिंवगत भएका प्रहरी हवल्दार योगेन्द्र बहादुर चन्दको परिवारलाई जनही ६७ हजार ३१ रुपैयाँका दरले सहयोग रकम हस्तान्तरण गरिएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा कार्यरत प्रहरी हवल्दार नारायण जैशीले जानकारी दिनुभयो ।
हवल्दार जैशीको नेतृत्वमा दार्चुलाबाट ४० हजार बढी र अन्य जिल्लहरुबाट कर्मचारीहरुको सहयोगमा १ लाख ३४ हजार ६२ रुपैयाँ संकलन भएको थियो ।
शुक्रवार (आज) बलाचका लोकेन्द्र बहादुर खडायतको परिवारलाई स्वयम प्रहरी हवल्दार जैशीको टोलीले ६७ हजार ३१ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ । त्यस्तै कैलालीका अर्का दिंवगत प्रहरी हवल्दार योगेन्द्र बहादुर चन्दको परिवारलाई पनी सोही अनुसारको सहयोग रकम हस्तान्तरण गरिएको छ ।
देश र जनताको रक्षकको भूमिकामा रहेका कर्मचारीका परिवारको पिडामा केही मलम लगाउने उद्धेश्यले स्वइच्छाले सोहि मितिमा भर्ना भएका प्रहरी कर्मचारीहरुबाट उठेको उक्त रकम संकलन गरि हस्तान्तरण गरिएको प्रहरी हवल्दार जैशीले बताउनुभएको छ । साथै उक्त अभियानमा सहयोग गर्ने सम्र्पुण मनकारी कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरिएको छ ।





प्रतिक्रिया